टर्कीको वैदेशिक व्यापार घाटामा १५.७ प्रतिशतले संकुचन

 

टर्कीको वैदेशिक व्यापार घाटामा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य मन्त्री ओमेर बोलाटले दिएको जानकारीअनुसार यस वर्षको पहिलो पाँच महिनामा देशको वैदेशिक व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १५.७ प्रतिशतले घटेर ४२.७ अर्ब अमेरिकी डलर कायम भएको छ ।

मे महिनामा निर्यातको तुलनामा आयातमा तिब्र गिरावट आएका कारण व्यापार घाटामा कमी आएको हो । राजधानी अंकारामा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री बोलाटले मे महिनामा निर्यात ९.३ प्रतिशतले घटेर २२.५ अर्ब डलर र आयात १०.७ प्रतिशतले घटेर २८.१ अर्ब डलर पुगेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार मे महिनामा परेका सार्वजनिक बिदाका कारण निर्यातमा केही नकारात्मक असर परे पनि यसले आयात र समग्र व्यापार घाटा घटाउन मद्दत पु¥याएको छ । तथ्याङ्कअनुसार सन् २०२४ को पहिलो पाँच महिनामा टर्कीको कुल निर्यात ०.३ प्रतिशतले वृद्धि भई १११.२ अर्ब डलर पुगेको छ भने आयात १.२ प्रतिशतले बढेर करिव १५४ अर्ब डलर पुगेको छ । सुन र सवारी साधनको आयातमा आएको कमीले समग्र आयातलाई नियन्त्रणमा राखेको भएपनि पेट्रोलियम पदार्थको आयातमा भने करिव २.५ अर्ब डलरले वृद्धि भएको मन्त्री बोलाटले बताउनु भयो ।

प्राकृतिक ग्यासको आयात भने लगभग स्थिर रहेको छ । निर्यातको गुणस्तरका सम्बन्धमा मन्त्रीले पहिलो पाँच महिनाको कुल निर्यातमा मध्यम–उच्च र उच्च प्रविधियुक्त उत्पादनको हिस्सा ४४ प्रतिशत रहेको उल्लेख गर्नुभयो । बजारका हिसाबले युरोपेली संघ (ईयू) टर्कीको सबैभन्दा ठूलो निर्यात बजार कायम छ । ईयूतर्फको निर्यात ०.६ प्रतिशतले बढेर ४८.६ अर्ब डलर पुगेको छ, जुन कुल निर्यातको ४३ प्रतिशत हो। मुलुकगत रूपमा जर्मनी टर्कीको प्रमुख निर्यात गन्तव्य बनेको छ भने त्यसपछि क्रमशः संयुक्त राज्य अमेरिका, बेलायत, इटाली, फ्रान्स र इराक रहेका छन् । मन्त्री बोलाटका अनुसार खाडी मुलुकतर्फको निर्यातमा भने अमेरिका–इजरायल–इरान द्वन्द्वले असर पारेको छ । उक्त क्षेत्रतर्फको निर्यात शुरुमा ३० प्रतिशतले घटे पनि अप्रिल र मे महिनादेखि सुधार हुन थालेको छ ।

वस्तुगत आधारमा, समीक्षा अवधिमा रक्षा उद्योगको निर्यात सबैभन्दा धेरै ९४ करोड ३० लाख डलरले बढेको छ । यस्तै, जहाज निर्यातमा ६८ करोड ३० लाख, विद्युतीय मेसिनरी तथा उपकरणमा ६० करोड ४० लाख, मोटर वाहनमा ४४ करोड ५० लाख र फलफूल निर्यातमा ३२ करोड २० लाख डलरले वृद्धि भएको छ ।

 

 

 

Nepal life insuranceimagesimagesimages