

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले इरानविरुद्ध सैन्य कारबाही जारी राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई सीमित गर्ने पक्षमा मतदान गरेको छ । मतदानमा चार जना रिपब्लिकन सांसदहरूले समेत विपक्षी डेमोक्र्याटहरूलाई साथ दिएका थिए ।

कुल २१५–२०८ मतले पारित भएको उक्त प्रश्तावले कङ्ग्रेसको थप अनुमतिबिना इरानविरुद्धको युद्धबाट अमेरिकी सेना फिर्ता गर्न राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ । यसअघि प्रतिनिधि सभामा तीन पटक र माथिल्लो सदन सिनेटमा सात पटक यस्तै प्रकृतिका प्रस्तावहरू ल्याइए पनि ती झिनो मतान्तरले विफल भएका थिए ।

हाल पारित भएको यो प्रश्ताव दुवै सदनबाट अनुमोदन भएपनि राष्ट्रपति ट्रम्पले आफ्नो विशेषाधिकार (भिटो) प्रयोग गरी यसलाई खारेज गर्नसक्ने प्रबल सम्भावना रहेको छ ।
इरानसँगको द्वन्द्व शुरु हुँदा रिपब्लिकन पार्टीको पूर्ण समर्थन पाउनुभएका ट्रम्पलाई युद्धको कुनै निश्चित अन्त्य नदेखिएपछि आफ्नै दलका केही सांसदहरूले चुनौती दिन थालेका हुन् । विशेषगरी आसन्न मध्यावधि निर्वाचन र बढ्दो इन्धनको मूल्यका कारण आगामी नोभेम्बरमा हुने निर्वाचनमा पार्टीको नतिजा प्रभावित हुनसक्ने भन्दै रिपब्लिकनहरू चिन्तित देखिएका छन् ।



