

मध्यपूर्वमा जारी तनावका कारण आन्तरिक बजार मूल्यमा प्रभाव परेपछि टर्किएमा वार्षिक मुद्रास्फीति दरमा सामान्य वृद्धि भएको छ । टर्किएको तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मे महिनामा मुद्रास्फीति ३२.६१ प्रतिशत पुगेको हो ।

गत अप्रिल महिनामा टर्किएमा वार्षिक मुद्रास्फीति दर ३२.३७ प्रतिशत रहेको थियो। तथ्यांकअनुसार मे महिनामा उपभोक्ता मूल्यमा अघिल्लो महिनाको तुलनामा १.७१ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, यो मासिक वृद्धिदर अप्रिलको ४.१८ प्रतिशतको तुलनामा भने उल्लेख्य रूपमा न्युन हो । मध्यपूर्वमा बढ्दो तनावले मुलुकको आर्थिक परिदृश्यलाई जटिल बनाएपछि टर्किएको केन्द्रिय बैंकले ब्याजदर कटौतीको प्रक्रियालाई रोकेको छ । बैंकले मार्च र अप्रिल महिनामा आफ्नो मुख्य नीतिगत दरलाई ३७ प्रतिशतमा यथावत राखेको छ ।

यसअघि सन् २०२५ को मध्यदेखि बैंकले ब्याजदरमा क्रमिक कटौती गर्दै आएको थियो । वाह्य जोखिम र मूल्यवृद्धिको निरन्तर चापलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले सन् २०२६ का लागि तय गरिएको मुद्रास्फीति प्रक्षेपणलाई समेत संशोधन गरेको छ ।
मे महिनाको मध्यतिर बैंकले आगामी वर्षको मुद्रास्फीति अनुमान १६ प्रतिशतबाट बढाएर २४ प्रतिशत पु¥याएको छ । सन् २०१८ को मुद्रा संकटयता टर्किए लगातार उच्च मुद्रास्फीतिको चपेटामा रहँदै आएको छ । लामो समयदेखि कायम उच्च मूल्यवृद्धिका कारण त्यहाँका सर्वसाधारण र व्यवसायीहरूको क्रयशक्तिमा ठूलो ह्रास आएको विश्लेषण गरिएको छ ।



