‘रोल नं १’का निर्माता भन्छन्– हिजोसम्म बामे सर्दैथियो आजबाट हिँड्न सुरु गर्‍यो

 

काठमाडौं। चलचित्र ‘रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ। काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ। काठमाडौं उपत्यकामा आज ‘रोल नं १’ले पाएका शोमा ८० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको छ। केही शो भने हाउसफूल भएका छन्। काठमाडौंबाहिर ४५ प्रतिशतभन्दा माथि अकुपेन्सी देखिएको छ।

दोस्रो हप्ताको सुरुबाट ‘रोल नं १’ हेर्ने दर्शकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। आज साँझका अधिकांश शोमा दिउँसै उच्च बुकिङ भइसकेको छ।

“हिजोसम्म बामे सरेको हाम्रो सिनेमा रोल नं १ आजबाट हिँड्न सुरु गर्यो,” निर्माता विनोद पौडेलले फेसबुकमा लेखेका छन्। उनले भनेजस्तै आजका धेरै शो हाउसफूल भएका छन्।

चलचित्रले राम्रो वर्ड अफ माउथ पाएको छ। सिनेमा हेर्ने दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नै पर्ने चलचित्र भनेर तारिफ गरेपछि त्यसको सकारात्मक प्रभाव देखिन थालेको निर्माण टिमको विश्लेषण छ।

बालमनोविज्ञानको कथा उठान गर्दै यो चलचित्रले विद्यमान शैक्षिक मूल्यांकन विधिमाथि प्रश्न उठाएको छ। यही विषयलाई नै दर्शकले रुचाएर तारिफ गरिरहेका छन्।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन रहेको छ।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्।

शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ।

 

Nepal life insuranceimagesimagesimages