
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अब जिल्ला अधिवेशनको चरण सकिँदै जाँदा मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन विभागका अनुसार ७७ जिल्लामध्ये अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र केही स्थानमा प्राविधिक तथा भौगोलिक कारणले अधिवेशन हुन बाँकी रहेको छ।

हाल १२ जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको, एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा कार्यतालिका सुरु हुन बाँकी रहेको जनाइएको छ। रास्वपाले जेठ २३ गतेदेखि देशव्यापी रूपमा जिल्ला अधिवेशन सुरु गरेको थियो। सम्पन्न भएका अधिकांश जिल्लामा नेतृत्व सर्वसम्मत वा निर्वाचनमार्फत चयन गरिएको पार्टीले जनाएको छ। लुम्बिनी प्रदेश भने सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको छ।

पार्टीका अनुसार वडा, पालिका र जिल्ला तहको अधिवेशनपछि अब प्रदेशस्तरीय नेतृत्व चयन प्रक्रियाले संगठनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। रास्वपाले तल्लो तहबाट प्रत्यक्ष नेतृत्व चयन गर्ने अभ्यासलाई आन्तरिक लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुँदैछ। पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण, नेतृत्व विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

#RSP #RastriyaSwatantraParty #Mahadhiveshan #Politics #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD





