एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ

काठमाडौं । प्रविधि कम्पनी एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’लाई ठूलो स्तरमा रूपान्तरण गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता प्रणालीयुक्त ‘सिरी एआई’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ संस्करणले प्रयोगकर्तालाई अझ प्रभावकारी, व्यक्तिगत र संवादमुखी अनुभव प्रदान गर्नेछ । कम्पनीको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलनमा यो घोषणा गरिएको हो । सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको अन्तिम सम्मेलन पनि बनेको छ । उनी आगामी सेप्टेम्बरमा १५ वर्षे कार्यकालपछि पदबाट बाहिरिने भएका छन् । उनको स्थानमा जोन टर्नसले नेतृत्व सम्हाल्नेछन् ।

 

सिरीमा कृत्रिम बुद्धिमत्ताको नयाँ युग – एप्पलले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता प्रविधिमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछि परेको आलोचना खेपिरहेको थियो । त्यसैबीच कम्पनीले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दै आफ्नो रणनीतिक दिशा स्पष्ट गरेको छ । नयाँ सिरी एआईले एप्पलका विभिन्न उपकरण र एपबीच एकीकृत रूपमा काम गर्नेछ । साथै, कम्पनीले कृत्रिम बुद्धिमत्ता सहायकका लागि छुट्टै एप पनि ल्याउने घोषणा गरेको छ, जसले अन्य अग्रणी प्रविधि कम्पनीहरूले उपलब्ध गराउँदै आएका सेवासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार सिरी एआईले प्रयोगकर्ताको अघिल्लो प्रयोग, तस्बिरहरूको बुझाइ, विश्वव्यापी जानकारी तथा व्यक्तिगत आवश्यकता समेटेर काम गर्नेछ । यसले हालको सिरीभन्दा धेरै सक्षम र स्वाभाविक संवाद गर्न सक्ने सहायकको भूमिका निर्वाह गर्ने दाबी गरिएको छ ।

हाल एप्पल इन्टेलिजेन्समार्फत लेखन सहयोग र तस्बिर सम्पादनजस्ता सुविधा उपलब्ध भए पनि सिरीको उन्नत संस्करण सार्वजनिक गर्न कम्पनीले अपेक्षाकृत लामो समय लगाएको थियो । प्रविधि विश्लेषक बेन वुडले एप्पलले कृत्रिम बुद्धिमत्तासम्बन्धी कमजोरीको जवाफ दिनैपर्ने अवस्था रहेको र सम्मेलनमार्फत केही उत्तर दिएको बताए । उनका अनुसार अब कम्पनीले गोपनीयतामा आधारित तथा एकीकृत प्रणालीले प्रयोगकर्ताको दैनिक अनुभव वास्तवमै सुधार्न सक्छ भन्ने प्रमाणित गर्नुपर्ने चुनौती छ । नयाँ सिरी एआईको परीक्षण संस्करण यसै वर्ष अंग्रेजी भाषामा चल्ने समर्थित उपकरणमा उपलब्ध गराइनेछ । यद्यपि युरोपेली सङ्घका देशहरूमा भने तत्काल उपलब्ध नहुने एप्पलले जनाएको छ । कम्पनीका अनुसार पछिल्ला केही महिनादेखि युरोपेली नियामक निकायहरूसँग छलफल भए पनि अन्य भर्चुअल सहायक सेवासँग सुरक्षित रूपमा सहअस्तित्व कायम गर्ने प्रस्ताव स्वीकार नभएकाले त्यहाँ सेवा विस्तार रोकिएको हो । यस वर्षको सुरुवातमा एप्पलले गुगलसँग सहकार्य गर्दै गुगलको जेमिनी मोडल र क्लाउड प्रविधिमा आधारित एप्पल फाउन्डेसन मोडल सार्वजनिक गरेको थियो ।

बालबालिकाको सुरक्षामा नयाँ कदम – एप्पलले आफ्नो आगामी सञ्चालन प्रणाली ‘आईओएस २७’ अन्तर्गत बालबालिकाको सुरक्षासम्बन्धी नयाँ व्यवस्था पनि घोषणा गरेको छ । कम्पनीले ‘आस्क’ नामक सुविधा विस्तार गर्दै अभिभावकलाई आफ्ना बालबालिकाले कससँग कुरा गर्न पाउने वा नपाउने भन्ने नियन्त्रण दिने जनाएको छ । अब अपरिचित व्यक्तिसँग कुराकानी गर्नुअघि अभिभावकको स्वीकृति आवश्यक हुनेछ । त्यस्तै, बालबालिकाको उपकरणमा पठाइने तस्बिर कम्पनीको प्रणालीले यौनजन्य वा हिंसात्मक सामग्री भएको आशङ्का गरेमा स्वतः सेन्सर गरिनेछ । फेडेरिघीले अभिभावकलाई बालबालिकाले के हेर्ने, कससँग कुरा गर्ने र कहिले पहुँच पाउने भन्ने व्यवस्थापन गर्न शक्तिशाली तथा प्रयोग गर्न सजिलो उपकरण उपलब्ध गराइएको बताए । बालबालिका सुरक्षाका पक्षधर समूहहरूले भने एप्पलले पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएका छन् ।

images

सम्मेलन सुरु हुनुअघि एप्पलको आगन्तुक केन्द्रबाहिर केही प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । ‘हिट इनिसिएटिभ’ नामक अभियान समूहकी सारा गार्डनरले एप्पलको एप स्टोरबाट सबै प्रकारका नग्न तस्बिर सिर्जना गर्ने प्रविधि हटाउन माग गर्दै विरोध जनाइन् । उनले कम्पनीको क्लाउड सेवाबाट बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन पनि माग गरिन् । उनका अनुसार यस्ता कृत्रिम बुद्धिमत्तामा आधारित अश्लील तस्बिर बनाउने एपबाट कम्पनीले कम्तीमा १७ करोड ७० लाख अमेरिकी डलर आम्दानी गरेको छ । एप्पलले भने यस्ता एप आफ्ना नियमविपरीत रहेको र धेरै अनुप्रयोग पहिल्यै हटाइसकेको जनाएको छ ।

images

टिम कुकको भावुक बिदाइ – यस वर्षको सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकका लागि विशेष रह्यो । एप्पलका सहसंस्थापक स्टिभ जब्स स्वास्थ्य समस्याका कारण पदबाट हटेपछि कुकले सन् २०११ मा नेतृत्व सम्हालेका थिए । १५ वर्ष नेतृत्व गरेका कुकलाई एप्पल पार्कमा उपस्थित हजारौँ कर्मचारी र विकासकर्ताले उभिएर सम्मान व्यक्त गरेका थिए । मञ्चमा उनले मजाक गर्दै ‘यति धेरै आईफोन मैले पहिले कहिल्यै देखेको थिइनँ’ भनेका थिए ।

images

बिदाइका क्रममा उनी भावुक पनि देखिए । उनले विश्वभरका मानिसहरूको जीवन सहज बनाउन विकासकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विगत १५ वर्षको यात्राका लागि आभार व्यक्त गरे । कुकले एप्पलको नेतृत्व गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताए । उनका उत्तराधिकारी जोन टर्नस मुख्य प्रस्तुतीकरण कार्यक्रममा बोल्न भने आएनन् । तर उनी सञ्चारकर्मीसँगको कार्यक्रममा कुकको छेउमै अगाडि बसेका थिए ।  बजार अनुसन्धान संस्था आईडीसीका विश्लेषक फ्रान्सिस्को जेरोनिमोका अनुसार सन् २०२६ को विकासकर्ता सम्मेलनले जोन टर्नसलाई थप व्यक्तिगत उपकरण, सन्दर्भ बुझ्ने सफ्टवेयर, बुद्धिमान सेवा तथा चिप, हार्डवेयर र कृत्रिम बुद्धिमत्ताबीचको गहिरो एकीकरणतर्फ अघि बढ्ने स्पष्ट मार्ग प्रदान गरेको छ ।

विश्लेषकहरूको भनाइमा एप्पलले प्रयोगकर्ताले अपेक्षा गरेअनुसारको विश्वसनीय, आकर्षक र सुरक्षित अनुभव दिन सके सिरी एआई र एप्पल इन्टेलिजेन्स कम्पनीको भविष्यको केन्द्रबिन्दु बनेको क्षणका रूपमा यो सम्मेलन सम्झिनेछ ।

Nepal life insurance