
आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले मुलुकमा सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टी विजयी भएको घोषणा गर्नुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार पाशिन्यानको नेतृत्वमा रहेको सिभिल कन्ट्रयाक्ट पार्टी ४९.८२५ प्रतिशत मतका साथ अग्रस्थानमा देखिएको छ ।

देशको केन्द्रिय निर्वाचन आयोगकाअनुसार आईतवार भएको मतदानमा करिब ५९ प्रतिशत मतदाता सहभागी भएका थिए। देशभरका कुल २ हजार ५ मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा सिभिल कन्ट्रयाक्ट पार्टीले ७ लाख २७ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।

मतदानपछि सञ्चारमाध्यमसँग कुरा गर्दै पाशिन्यानले चीनसँगको रणनीतिक साझेदारीलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दुवै देश पारस्परिक हितका लागि सहकार्य गर्न इच्छुक रहेको बताउँदै आगामी दिनमा यो सम्बन्ध अझै गहिरो हुने विश्वास व्यक्त गर्नुभयो ।

आर्मेनियाको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका सदस्यहरू पाँच वर्षका लागि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने गर्दछन् । आर्मेनियाली संसदमा कम्तीमा १०१ सदस्य रहने प्रावधान छ, जसको अन्तिम सिट संख्या निर्वाचनको पूर्ण नतिजाका आधारमा तय गरिनेछ ।





