श्रम तथा यातायातमन्त्री सरिता गिरीले एक – दुई दिनभित्रै राजीनामा नदिए पदबाट बर्खास्त गर्ने प्रधानमन्त्री भट्टराईको चेतावनी

काठमाडौ  – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले मागेअनुसार श्रम तथा यातायातमन्त्री सरिता गिरीले एक/दुई दिनभित्रै राजीनामा नदिए उनलाई पदबाट बर्खास्त गर्ने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले गिरीलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार बोलाई श्रम मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इसारामा काम गरेको भन्दै राजीनामा मागेका थिए ।

‘हामीलाई विश्वास छ प्रधानमन्त्रीले मागेअनुसार गिरीले एक/दुई दिनमै राजीनामा दिनुहुन्छ । दिनुभएन भने प्रधानमन्त्रीले उहाँलाई हटाएर अर्को श्रममन्त्री नियुक्त गर्नुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले बिहीबार भन्यो ।

भट्टराईले आफू प्रधानमन्त्री निर्वाचित हुँदा सहयोग गरेको नाताले नेपाल सद्भावना पार्टीकी नेतृ गिरीलाई आफ्नो पार्टीको कोटामा रहेको श्रम मन्त्रालयमा नियुक्त गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागमा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई विवादास्पद म्यानपावरको इसारामा हटाएको भन्दै मन्त्री गिरीको राजीनामा मागेका हुन् । प्रधानमन्त्री आफैंले विभागमा वैदेशिक रोजगारमा जाने गरिब नेपालीलाई दुःख दिएर ठूलो मात्रामा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न र सुधार कार्यक्रम कार्यान्वयन गर्न भट्टराईलाई महानिर्देशक बनाएर पठाएका हुन् ।

गिरीलाई स्पष्टीकरण दिन आउनुभन्दा नआएको र उल्टै राम्रो गरिरहेका महानिर्देशकमाथि लान्छना लगाएर पत्रकार सम्मेलन गरेपछि रिसाएका प्रधानमन्त्रीले उनीसँग राजीनामा मागेका हुन् । गिरीले पत्रकार सम्मेलनमा महानिर्देशक भट्टराईले नयाँ म्यानपावर दर्ता गर्दा पक्षपात गरेको र विभागमा नराम्रो काम गरेको गुनासो आएकाले छानबिनका लागि सरुवा गरेको दाबी गरेकी थिइन् ।

यसैबीच प्रधानमन्त्रीले मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) लाई तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताको ठाउँमा अर्को मन्त्रीको नाम दिन भनेका छन् । ‘प्रधानमन्त्रीले गणतान्त्रिकसित सञ्चारमन्त्री नियुक्तिका लागि एक/दुई दिनमै नाम सिफारिस गर्न आग्रह गर्नुभएको छ । गणतान्त्रिकबाट नाम सिफारिस भएपछि गिरीलाई बर्खास्तसमेत गरेर एकैचोटि श्रम र सूचनामन्त्री नियुक्त गर्नुहुनेछ,’ स्रोतले भन्यो । – कान्तिपुर