
काठमाडौँ । दक्षिणी लेबनानको प्रमुख सहर टायरमा इजरायलले जारी गरेको नयाँ खाली गराउने आदेशपछि नागरिकहरूको पलायन जारी रहेको छ । लेबनानी नागरिक सुरक्षा टोलीहरू वृद्धवृद्धा, बिरामी तथा अन्य जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन जुटेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली चेतावनीपछि ठूलो संख्यामा मानिसहरूले आफ्नो घर छाडेर सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् । परिस्थितिलाई मध्यनजर गर्दै राहत निकायहरूले विशेष उद्धार तथा स्थानान्तरण अभियान सञ्चालन गरेका छन्, जसअन्तर्गत आफैं यात्रा गर्न नसक्ने नागरिकलाई सुरक्षित स्थानमा लगिने काम भइरहेको छ ।

उद्धार टोलीहरूले संवेदनशील तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन् । एम्बुलेन्स तथा अन्य राहत सवारीसाधनमार्फत धेरै वृद्धवृद्धालाई सहरबाहिर स्थानान्तरण गरिएको छ । यसपटक इजरायली सेनाले जारी गरेको खाली गराउने आदेशमा टायरको ख्रीष्टियन समुदायको बाहुल्य रहेको क्षेत्र पनि समेटिएको छ । यसअघि यस्ता आदेशबाट उक्त क्षेत्र प्रायः बाहिर रहने गरेको थियो । नयाँ आदेशपछि स्थानीय बासिन्दामाझ चिन्ता बढेको बताइएको छ ।

इजरायली सेनाले सम्बन्धित क्षेत्रमा हिजबुल्लाहका लडाकुहरू सक्रिय रहेको र त्यहाँ सैन्य गतिविधि सञ्चालन भइरहेको दाबी गरेको छ । यद्यपि ती दाबीहरूको स्वतन्त्र रूपमा तत्काल पुष्टि हुन सकेको छैन । यसअघि सोमबार इरान र इजरायलले एक अर्काविरुद्ध मिसाइल आक्रमण गरेपछि इरानले लेबनानमाथि आक्रमण जारी राखेमा फेरी मिसाइल प्रहार गर्ने चेतावनी दिएको थियो ।





