
राज्य व्यवस्था समिति बैठकमा आइतबार सभासद्हरुले प्रधानमन्त्री भट्टराईमाथि ब्यङ्ग्य कसे । सभासद्हरुले मुलुकमा भ्रष्टाचार बढेको, मन्त्रीहरुलाई लगाम लगाउन नसकेको, कर्मचारीलाई छाडा छाडेको विषयमा व्यङ्ग्य गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई छाडेनन् । ‘प्रधानमन्त्रीले मधेसी मोर्चालाई लिएर सरकार बनाउनुभएको छ, यहाँ भ्रष्टाचार धेरै छ,’ उनले भने, ‘प्रधानमन्त्री त समुद्रको माछाजस्तो हुनुभएको छ, बोल्यो भने मुखभित्र पानी पर्ने डर ।’
सरकार ढल्ने डरले प्रधानमन्त्रीले भ्रष्टाचारलाई छुट दिएको उनको आरोप थियो । केसीको भनाइलाई प्रधानमन्त्रीले स्वीकारे । ‘उहाँ मेरो राजनीतिक गुरु पनि हो, स्थिति पनि उहाँले भनेजस्तै छ,’ प्रधानमन्त्रीको स्वीकारोक्ति थियो ।
कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीले पनि प्रधानमन्त्रीले ब्रम्हलुटलाई नियन्त्रणमा लिन नसकेको आरोप लगाए । ‘मैले लुट फिल्म हेर्न भ्याइँन, तर हेर्नेहरुले अहिल्यै गएर हेरुँजस्तो गरी बयान गर्छन्, यस्तो बयान प्रधानमन्त्रीले पनि सुन्नु भएको छ होला,’ उनले भने, ‘प्रधानमन्त्रीको सरकारले मुलुकमा ब्रम्हलुट मच्चाएको छ, लुटभन्दा यो अझ हिट हुन्छ ।’
बैठकमा सभासद्हरुले सरकार समीकरणमा अप्ठ्यारो नपर्ने भएकाले श्रम मन्त्री सरिता गिरीलाई बर्खास्त गरेको आरोप लगाए । तर प्रधानमन्त्रीले भने त्यस्तो आरोप अस्वीकार गरे ।