प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा फेरि संवैधानिक निकायमा दुई साताभित्र नियुक्ति गर्ने प्रतिबद्धता

– सरोजराज अधिकारी

 

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले संवैधानिक निकायमा दुई साताभित्र नियुक्ति गर्ने प्रतिबद्धता जनाएका छन् ।

संसद्को राज्य व्यवस्था समितिमा आइतबार बिहान उपस्थित प्रधानमन्त्री भट्टराईले दुई साताभित्र नियुक्ति गर्ने बताएका हुन् । नियुक्तिका लागि इच्छुक व्यक्तिहरुको व्यक्तिगत विवरण लिइसकेको जानकारी दिंदै प्रधानमन्त्रीले मापदण्ड बनाउने काम भइरहेको जानकारी दिए ।

‘हामी सहमति प्रणालीमा छौं, अन्तरिम संविधानको मर्म पनि यहि नै हो,’ प्रधानमन्त्रीले भने, ‘सवैको सहमतिमा दुई साताभित्र संवैधानिक निकायमा नियुक्ति गर्नेछु ।’ उनले प्रधानमन्त्री भएलगत्तै ७ महिनाअघि पनि एक महिनाभित्र नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए ।

समितिका सदस्यहरु सभासद् प्रदीप ज्ञवाली, विष्णु पौडेल, चित्रबहादुर केसीले संवैधानिक अङ्गमा नियुक्ति कहिलेसम्म गर्ने समय तोक्न र नियुक्ति गर्न नसके कारण खुलाउन माग गरेपछि प्रधानमन्त्रीले दोस्रोपटक मिति तोकेका हुन् ।