ट्रम्पद्वारा जे क्लेटन राष्ट्रिय गुप्तचर निर्देशकमा मनोनित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार धितोपत्र तथा विनिमय आयोगका पूर्वअध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा मनोनीत गर्नुभएको छ । यसअघिका उम्मेदवारले संसद्का दुवै दलको तीव्र विरोध सामना गर्नुपरेपछि क्लेटनलाई यो जिम्मेवारीका लागि अघि सारिएको हो ।

क्लेटन कानुन व्यवसायी संस्था सुलिभान एण्ड क्रोमवेलका पूर्वप्रमुख हुनुका साथै न्युयोर्कको दक्षिणी जिल्लाका लागि वर्तमान अमेरिकी सरकारी वकिलसमेत हुनुहुन्छ। सङ्घीय आवास वित्त निकायका प्रमुख बिल पुल्टेलाई राष्ट्रिय गुप्तचर निकायको कार्यवाहक निर्देशक नियुक्त गर्ने ट्रम्पको निर्णयप्रति दुवै दलबाट असन्तुष्टि र दबाब बढेपछि यो नयाँ घोषणा सार्वजनिक भएको हो ।

पुल्टेले जुन १९ देखि कार्यवाहक निर्देशकको पदभार ग्रहण गर्ने तय भएको थियो । यसअघि गत मे महिनाको अन्त्यतिर, हवाईकी पूर्व डेमोक्र्याटिक सांसद तुलसी ग्याबार्डले राष्ट्रिय गुप्तचर निर्देशकको पदबाट राजीनामा दिनुभएको थियो, जो ट्रम्पको दोस्रो कार्यकालमा राजीनामा दिने चौथो क्याबिनेट अधिकारी बन्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै ग्याबार्डले पारिवारिक कारण देखाउँदै जुन ३०, २०२६ देखि लागू हुनेगरी पद त्याग्ने घोषणा गर्नुभएको थियो । यद्यपि, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार फेब्रुअरी २८ मा शुरु भएको इरानविरुद्धको अमेरिका–इजरायल सैन्य कारबाहीप्रति ग्याबार्डको असहमति नै उहाँको राजीनामाको भित्री कारण हुनसक्ने अनुमान गरिएको छ ।

 

गत मार्चमा सिनेटको गुप्तचर समितिलाई बुझाएको लिखित प्रतिवेदनमा ग्याबार्डले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा ध्वस्त पारेका कारण उसले आणविक क्षमता पुनर्जीवित गर्ने कुनै प्रयास नगरेको दाबी गर्नुभएको थियो। यो मूल्याङ्कन राष्ट्रपति ट्रम्पको दाबीसँग बाझिएको थियो, जसले इरानबाट तत्कालै आसन्न खतरा रहेको भन्दै आक्रमण आवश्यक भएको दलिल पेश गर्दै आउनुभएको थियो ।