वैद्यले छुट्ट्रै सांगठिन संरचना बनाएर कार्यक्रम तय गरेको भन्दै माओवादी संस्थापन पक्षले आफ्नोतर्फबाट ‘अनौपचारिक’ संरचना बनाउने

काठमाडौ – उपाध्यक्ष मोहन वैद्यले छुट्ट्रै सांगठिन संरचना बनाएर कार्यक्रम तय गरेको भन्दै माओवादी संस्थापन पक्षले आफ्नोतर्फबाट ‘अनौपचारिक’ संरचना बनाउने भएको छ । वैद्य पक्षका राज्यसमिति, संगठन र मोर्चाका इञ्चार्जहरूले ‘गुट’ को काम गरेको भन्दै संस्थापनले संगठनको जिम्मेवारीमा नयाँ नेता तोक्ने तयारी गरेको हो ।

स्थायी समिति सदस्य वर्षमान पुनले वैद्य पक्षबाट पार्टी नीतिविपरीत गई संगठन बनाई कार्यक्रम घोषणा गर्ने काम भएकाले संस्थापनले अनौपचारिक संरचना बनाई संगठनको काम अघि बढाउने बताए । ‘पार्टीलाई सही ढंगले सञ्चालन गर्न अनौपचारिक रूपमा जिम्मा दिने तयारी छ,’ उनले भने, ‘किरण -वैद्य) जीहरू केन्द्र, राज्य, जिल्लादेखि स्थानीयस्तरसम्म छुट्ट्रै संरचना बनाएर कार्यक्रम चलाउनु भएको छ । संगठन सञ्चालन गर्न पार्टीले संरचना बनाउनुपर्ने हुन्छ ।’

वैद्य पक्षमा लागेका इञ्चार्जहरूले पार्टीको काम छाडेकाले संस्थापनले जिम्मेवारी नतोके पार्टी बेकामे हुने उनले जनाए । ‘अनौपचारिक जिम्मा दिएर कार्यक्रम नदिने हो भने विघटनको खतरा हुन्छ,’ उनको भनाइ थियो, ‘पार्टीभित्र वैचारिक र बाहिर शान्ति र संविधानका पक्षमा कार्यक्रम लिनु आवश्यक छ ।’

वैद्य पक्षले छुट्ट्रै पार्टी, मोर्चा र सेना बनाएको आरोप लगाउँदै उनले उक्त पक्षभित्र केही नेता अब पनि छापामार युद्धको तयारी गर्ने मनस्थितिमा भएको जनाए । ‘उहाँहरू पार्टी, मोर्चा र सेना बनाएको दाबी गर्नुहुन्छ,’ उनले भने, ‘त्यो पक्षभित्र केही नेता छापामार युद्ध गर्ने मनस्थितिमा छन् ।’ स्वैच्छिक अवकाशमा गएका लडाकुलाई संगठित गरी सेना, सचिव सीपी गजुरेलको संयोजकत्वमा मोर्चा र छुट्टै पार्टी गठनको तयारी वैद्य पक्षले गरेको संस्थापनको बुझाइ छ । शान्ति र संविधान निष्कर्षमा पुग्न थालेकाले वैद्य पक्ष बिच्किएको संस्थापनको बुझाइ छ ।

यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले फरक मत भए पनि वैद्य पक्षलाई समेटेर जाने प्रयास भइरहेको बताए । शान्ति र संविधानमा फरक विचार भए पनि बहुमतको निर्णय कार्यान्वयन गरेर जानु अहिलेको विकल्प भएको उनको भनाइ छ । ‘सकेसम्म एउटै पार्टीमा लिएर जाने प्रयत्न हुन्छ,’ उनले भने, ‘एउटै पार्टीमा पनि फरक मत राखेर पार्टी निर्णय मानेर जाने हुनसक्छ । छलफलमा स्वतन्त्रता हुन्छ, पारित निर्णय कार्यान्वयन गरेर जाने हुन्छ ।’

केन्द्रीय समिति स्थगित माओवादीले उपाध्यक्ष मोहन वैद्य पक्षसँग छलफल भइरहेकाले सोमबार बोलाएको केन्द्रीय समिति बैठक पुनः स्थगित गरेको छ । संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा वैद्य पक्षलाई सहभागी गराउन बैठक स्थगित गरेको जनाएको छ ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन थप गृहकार्य आवश्यक भएकाले बैठक स्थगित गरेको जनाए । ‘थप गृहकार्य आवश्यक भएकाले बैठक रोकेका छौं,’ उनले भने, ‘सकेसम्म वैद्य पक्षलाई समेटी केन्द्रीय समिति बैठक गर्ने प्रयास हो ।’ वैद्य पक्षले भने प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने, विगत केन्द्रीय समिति निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै बैठकमा सहभागी नहुने बताइसकेका छन् । – कान्तिपुर