
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राज्यद्रोहको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ । उत्तर कोरिया (डीपीआरके) मा ड्रोन घुसपैठ गराएर देशको सैन्य हितविपरीत कार्य गरेको ठहर गर्दै सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो ।
अदालतले युनलाई साधारण राज्यद्रोहको कसुरमा दोषी ठहर गरेको छ, जुन दक्षिण कोरियाको सैन्य स्वार्थमा हानि पु¥याउने वा शत्रु पक्षलाई फाइदा पुरÞ्याउने अपराधसँग सम्बन्धित छ । फैसलामा भनिएको छ कि उक्त ड्रोन घुसपैठ राष्ट्रिय सुरक्षा वा प्रतिरक्षाका लागि नभई निजी स्वार्थका लागि गरिएको थियो, जसले देशको सैन्य हितमा ठूलो क्षति पु¥याएको छ ।
स्वतन्त्र काउन्सिलको अनुसन्धान टोलीले युन विरुद्ध ३० वर्षको कारागार सजाय माग गरेको थियो ।


सन् २०२४ अक्टोबरमा प्योङयाङमा ड्रोन घुसपैठ गराउन आदेश दिएको र सोही वर्षको डिसेम्बरमा मार्सल ल (सैन्य शासन) घोषणा गर्न आधार तयार पार्ने उद्देश्यले उत्तर कोरियालाई सैन्य उत्तेजना फैलाउन उकासेको अभियोग उनीमाथि लगाइएको थियो । विशेष अभियोजक टोलीकाअनुसार उक्त ड्रोन अपरेसनले दुई कोरियाबीच सैन्य तनाव बढाउनुका साथै ड्रोन दुर्घटनाका कारण सैन्य सञ्चालन र सम्पत्तिसम्बन्धी अति गोप्य सूचनाहरू चुहावट हुन पुगेको थियो । सोही मुद्दामा अदालतले पूर्वरक्षामन्त्री किम योङ–ह्युनलाई ३० वर्षको जेल सजाय सुनाएको छ, जुन अभियोजन पक्षले माग गरेको २५ वर्षको सजाय भन्दा बढी हो । त्यस्तै, डिफेन्स काउन्टर इन्टेलिजेन्स कमान्डका पूर्व प्रमुख यो इन–ह्युङलाई १५ वर्षको जेल सजाय तोकिएको छ । युन, किम र यो विरुद्ध सन् २०२५ नोभेम्बरमा राज्यद्रोहको मुद्दा दायर गरिएको थियो ।

यसअघि, सन् २०२४ डिसेम्बर ३ मा संकटकाल घोषणा गरी राज्य विद्रोह गरेको अभियोगमा पूर्वराष्ट्रपति युनलाई गत फेब्रुअरीमा जन्मकैदको सजाय सुनाइएको थियो। सन् २०२५ जनवरीमा विद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा लिइएका युन, पदमा बहाल रहँदा पक्राउ परी अभियोग लाग्ने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन् ।




