मध्यपूर्वमा जारी तनावका बीच टर्कीको केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर ३७ प्रतिशतमा यथावत

मध्यपूर्वमा जारी तनावका कारण मुद्रास्फीतिमा चाप परेपछि टर्कीको केन्द्रिय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदरलाई ३७ प्रतिशतमा यथावत राखेको छ । बैंकले सावधानी अपनाउँदै लगातार तेस्रो महिना ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।

मौद्रिक नीति समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भू–राजनीतिक विकासक्रम र त्यसबाट सिर्जित अनिश्चितताका कारण ऊर्जाको मूल्य अस्थिर र उच्च रहेको छ ।’
टर्कीमा वार्षिक मुद्रास्फीति दर मे महिनामा ३२.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना ३२.४ प्रतिशत थियो ।

मुख्यतया ऊर्जाको मूल्यमा भएको भारी वृद्धिका कारण यो सात महिनायताकै उच्च विन्दु हो । यसअघि मार्च महिनामा केन्द्रीय बैंकले ब्याजदर घटाउने प्रक्रियालाई स्थगन गरेको थियो । इरानसँग सम्बन्धित तनावका कारण बजारमा आउन सक्ने उतारचढावले मुद्रास्फीति अझै बढाउन सक्ने बैंकको चेतावनी थियो ।

बाह्य जोखिम र मूल्य वृद्धिको निरन्तर दबाबलाई मध्यनजर गर्दै बैंकले सन् २०२६ का लागि मुद्रास्फीति प्रक्षेपण समेत परिमार्जन गरेको छ। यसअघि १६ प्रतिशत रहने अनुमान गरिएकोमा अहिले यसलाई बढाएर २४ प्रतिशत पु¥याइएको छ ।