
काठमाडौं । अमेरिकाको न्याय विभागले प्यारामाउन्ट स्काइडान्सद्वारा वार्नर ब्रदर्स डिस्कभरीलाई खरिद गर्ने प्रस्तावबारे गरिएको अनुसन्धान पूरा गरेको छ । अनुसन्धानपछि उक्त मर्जरले उद्योगमा उपभोक्तालाई हानि पुर्याउने सम्भावना नरहेको निष्कर्ष निकालिएको छ ।
एजेन्सीले यो डीलबारे गरिएको प्रतिस्पर्धा सम्बन्धी समीक्षा बन्द गरेको जनाएको छ । नियामकहरूले मर्जरले ‘मिडिया र मनोरञ्जन क्षेत्रको प्रतिस्पर्धा अझ बढाउने’ र त्यसबाट अमेरिकी उपभोक्ता तथा कामदार दुवैलाई फाइदा पुग्ने बताएका छन् ।

प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरी खरिद गर्ने सम्झौता फेब्रुअरी अन्त्यतिर गरेको थियो । लामो समयको वार्ता र नेटफ्लिक्सको एक प्रस्तावपछि यो सम्झौता अघि बढेको थियो । स्काइडान्सले गत वर्ष मात्र प्यारामाउन्टलाई अधिग्रहण गरेको थियो ।
कम्पनीहरूको तर्क अनुसार यो मर्जर उद्योगको विकासका लागि सकारात्मक हुनेछ र उपभोक्ताले अझ धेरै सामग्री हेर्न पाउनेछन्। तर आलोचकहरूले भने यस प्रकारको एकीकरणले पहिले नै केही ठूला कम्पनीको नियन्त्रणमा रहेको उद्योगमा थप जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

नियामकहरूले भिडियो स्ट्रिमिङ क्षेत्रमा प्रतिस्पर्धामा पर्ने प्रभावबारे पनि अध्ययन गरेका थिए । उनीहरूको निष्कर्ष अनुसार यो मर्जरले ठूलो स्ट्रिमिङ प्लेटफर्महरूको तुलनामा बलियो विकल्प सिर्जना गर्ने भएकाले प्रतिस्पर्धा घटाउने होइन, उल्टै बढाउने सम्भावना रहेको छ ।
एजेन्सीले युट्युब, टिकटक र अन्य सामाजिक सञ्जाललाई पनि विश्लेषण गरेको थियो। तर ती प्लेटफर्महरूलाई परम्परागत प्रतिस्पर्धा कानुनअनुसार प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा नहेर्न सकिने निष्कर्ष निकालिएको छ, यद्यपि ती प्लेटफर्महरूले दर्शकको ध्यान आकर्षित गर्न ठूलो प्रतिस्पर्धा गरिरहेका छन्।

त्यसैगरी लाइभ प्रसारण हुने परम्परागत टेलिभिजन क्षेत्रमा पनि यो मर्जरले ठूलो असर नपार्ने निष्कर्ष निकालिएको छ, किनभने त्यहाँ पहिले नै कडा प्रतिस्पर्धा रहेको बताइएको छ।
यता यो डीलको विरोधमा हजारौँ कलाकार, निर्देशक, लेखक तथा अन्य फिल्म उद्योगका पेशाकर्मीहरू उत्रिएका छन्। उनीहरूको भनाइमा यस्तो मर्जरले रोजगारी घटाउने र चलचित्र निर्माता तथा दर्शकका विकल्पहरू सीमित पार्ने जोखिम हुन्छ। केही सांसदहरूले पनि यही चिन्ता व्यक्त गरेका छन् ।





