
साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ विमोचन भएको छ । शनिवार अधिकारीद्वारा लिखित सफलताको २७ स्वर्णिम सूत्रहरु लाकार्पण गरिएको हो । लोकार्पण समारोहमा बोल्दै अभिनेता दयाहाङ राईले सफलतालाई केवल भौतिक उपलब्धि वा उचाइ हासिल गर्नुसँग मात्र जोड्न नहुने तर्क गर्नुभयो । कुनै पुस्तक वा विचारधारामा उल्लेख गरिएका सफलताका सूत्रहरू सबैका लागि समान रूपमा फलदायी नहुने उहाँले उल्लेख गर्नुभयो । मानिस एक सामाजिक प्राणी भएकाले उसको सोच र चिन्तन प्रणालीमा समाजको गहिरो प्रभाव रहने राईको भनाइ छ ।
आफ्नो अभिनय यात्रा र चरित्र निर्माणको अनुभवलाई जोड्दै राईले स्थान र परिवेशले मानिसको अनुभूतिमा परिवर्तन ल्याउने बताउनु भयो । राईले जीवनलाई बुझ्नका लागि सामाजिक र व्यक्तिगत दुवै दृष्टिकोणको सन्तुलन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब सफलता के हो भन्ने प्रश्न आउँछ । खुशीलाई सफलता मान्ने कि नमान्ने ? सगरमाथा चढ्नुलाई सफलता मान्ने कि नमान्ने ? पदोन्नति पाउनुलाई सफलता मान्ने कि नमान्ने ? केवल उचाईमा पुग्नुलाई मात्र सफलता मान्ने कि फेरि जमिनमा फर्किएर सामान्य जीवन जिउन सक्नुलाई पनि सफलता मान्ने ? यस्ता धेरै प्रश्नहरू छन् । त्यसैले मेरो बुझाइमा जीवन आफैँमा एउटा अभ्यास हो । यस पुस्तकमा उल्लेख गरिएका कतिपय सूत्रहरू आफूमाथि लागू हुन्छन् भने कतिपय सूत्रहरू लेखकको आफ्नै सोच र चिन्तनबाट आएका छन्, जुन सबै मानिसमा समान रूपमा लागू नहुन पनि सक्छन् । किनभने मानिस एक्लै हुँदैन, ऊ समाजसँग जोडिएको हुन्छ। समाजको आफ्नै चिन्तन, सोच र विश्वास प्रणाली हुन्छ । जब हामी समाजमा बस्छौँ, त्यसले हाम्रो जीवन हेर्ने दृष्टिकोणलाई पनि प्रभाव पारिरहेको हुन्छ । मैले जीवनलाई कसरी हेर्छु, घामलाई कसरी हेर्छु, पानीलाई कसरी बुझ्छु भन्ने कुरा पनि त्यसैबाट प्रभावित हुन्छ । तर कहिलेकाहीँ म त्यो सामाजिक घेराभन्दा अलि पर गएर, प्राकृतिक दृष्टिकोणबाट पनि संसारलाई हेर्ने प्रयास गर्छु । त्यही घामलाई म फरक तरिकाले अनुभूति गरिरहेको हुनसक्छु । मेरो हेर्ने र सोच्ने तरिका अरूको भन्दा केही फरक हुनसक्छ । अभिनेता भएको नाताले चरित्र निर्माणको प्रक्रियालाई नजिकबाट नियाल्दा मैले एउटा कुरा महसुस गरेको छु—मैले काठमाडौँमा बसेर हेरेको घाम र भोजपुरमा बसेर हेरेको घाम एउटै भए पनि त्यसको अनुभूति फरक हुन सक्छ। स्थान, परिवेश, अनुभव र दृष्टिकोणले हाम्रो अनुभूतिलाई फरक बनाइदिन्छ ।’
लेखिका शोभा अधिकारीले आफ्नो नवीनतम कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ मानव जीवनका लागि उपयोगी हुनुका साथै मानसिक एवं भावनात्मक सबलताका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यस पुस्तकलाई शब्दहरूको औषधिको संज्ञा दिँदै यसले मानिसलाई चुनौतीहरूको सामना गर्ने शक्ति प्रदान गर्ने बताउनु भयो । अधिकारीकाअनुसार शारीरिक पीडामा औषधिको सेवनले राहत मिलेजस्तै यो पुस्तकले मानसिक तनावबाट मुक्ति र शान्ति प्राप्त गर्न मद्दत पु¥याउँछ । सफलता कसरी प्राप्त गर्ने, तनावमुक्त जीवन कसरी बिताउने र उपलब्ध अवसरहरूको उचित सदुपयोग कसरी गर्ने भन्ने विषयमा पुस्तक केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान समाजमा बढ्दै गएको विवाहोत्तर सम्बन्ध र त्यसले निम्त्याएको दाम्पत्य जीवनको विखण्डनप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले यस पुस्तकले सम्बन्धहरूलाई दिगो र सुमधुर बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ एउटा औषधि हो, शब्दहरूको औषधि हो, र भिटामिन पनि हो । जसरी हामीले शारीरिक पीडा हुँदा औषधि सेवन गर्दा राहत प्राप्त गर्छौं, त्यसरी नै ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ ले मानसिक र भावनात्मक रूपमा बल प्रदान गर्नुका साथै जीवनका चुनौतीहरूको सामना गर्न सक्ने शक्ति पनि दिन्छ । त्यसैले यो पुस्तक मानव जीवनका लागि अत्यन्त उपयोगी छ । यो पुस्तक पढ्नुभयो भने हामी कसरी सफल हुने, तनावमुक्त जीवन कसरी बिताउने, खुसी, सुखी र शान्तिमय जीवन कसरी प्राप्त गर्ने, अवसरहरूको सदुपयोग कसरी गर्ने तथा सम्बन्धहरूलाई कसरी दिगो बनाउने भन्ने विषयमा महत्वपूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ ।’

आफ्ना अनुभव, अनुभूति र साधनाको प्रतिफलका रूपमा तयार पारिएको यस कृतिमा आफ्नो क्षमता चिन्न, सकारात्मक सोचको विकास गर्न, आत्मविश्वास बढाउन र दृढ संकल्पका साथ अगाडि बढ्नका लागि विभिन्न सूत्रहरू प्रश्तुत गरिएको छ । अधिकारीले असल समाज निर्माणका लागि व्यक्ति आफैँ असल हुनुपर्नेमा जोड दिँदै यो पुस्तकले पाठकको जीवनमा नयाँ आयाम थप्ने दाबी गर्नुभयो । पुस्तकले निरन्तर परिश्रम र दृढ इच्छाशक्तिमार्फत जीवनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मुख्य विषयवस्तु बनाएको छ ।




