
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशुन्य र तर्कहीन बन्दै गएको बताउनुभएको छ ।
काठमाडौंमा शनिवार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंशप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हालको राजनीतिक अवस्थालाई ‘विचारशुन्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभयो ।
संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भएपनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताउनु भयो । अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गर्नुभयो । भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उहाँको भनाइ छ । पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उहाँको विश्लेषण छ ।


डा. राउतले भन्नुभयो, ‘हामीले एउटा सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठिक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ । जमिन वा संरचना अवैध भए त्यसलाई राज्यले राष्ट्रियकरण गर्नुपर्छ, तर अर्बौँको क्षति हुने गरी डोजर लगाएर भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश हो । हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ । यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ ।’

आफूहरूले प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उहाँले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपु¥याउने भन्दै उहाँले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताउनु भयो ।




