
काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा आइतबार सम्झौता हुन सक्ने अपेक्षाबीच इरानका विभिन्न सहरमा त्यसको विरोधमा प्रदर्शन भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सम्झौताबारे सार्वजनिक रूपमा धारणा व्यक्त गरेपछि विरोधका गतिविधि बढेका हुन् । यद्यपि इरानले भने सम्झौतामा हस्ताक्षर हुने मिति वा समयबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।


सम्झौताको विरोध गर्ने समूहहरूले राजधानी तेहरानलगायतका स्थानमा प्रदर्शन गर्दै विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहमद बाघेर घालीबाफविरुद्ध नाराबाजी गरेका छन् ।

तेहरानको इब्न सिना चोकमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरू कट्टरपन्थी राजनीतिक समूह ‘पर्सिस्टेन्स फ्रन्ट’ निकट रहेको बताइएको छ । प्रदर्शनकारीहरूले अमेरिका–इरान सम्झौता राष्ट्रिय हितविपरीत हुने दाबी गरेका थिए ।
शनिबार साँझ विदेश मन्त्रालयको भवनअगाडि दर्जनौँ प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले विदेशमन्त्री अराघचीले अमेरिकासँग सम्भावित सम्झौताबारे दिएका अभिव्यक्तिको विरोध गरेका थिए । इरानको फार्स समाचार संस्थाले सार्वजनिक गरेको दृश्यमा प्रदर्शनकारीहरूले अराघचीविरुद्ध नाराबाजी गरेको देखिएको छ ।

सम्झौताको विरोध गर्ने पक्षको भनाइमा यस्तो सहमतिले इरानको हितलाई कमजोर बनाउने र विशेषगरी रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज क्षेत्रमा इरानको प्रभाव घट्ने उनीहरूको तर्क छ ।
विदेशमन्त्री अराघचीले हालै एक टेलिभिजन अन्तर्वार्तामा सम्भावित सम्झौतामा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषय समावेश हुन सक्ने बताएका थिए । उनले होर्मुज जलडमरूमध्यलाई इरानको प्रमुख प्रतिरोधात्मक तथा रणनीतिक क्षमतामध्ये एक भएको उल्लेख गरेका थिए ।





