
पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इसहाक दार र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका र इरानबीचको वार्ताको अन्तिम चरणको स्वागत गर्नुभएको छ । आईतवार सम्झौताको विद्युतीय हस्ताक्षर (इलेक्ट्रोनिक साइनिङ) समारोह तय भएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले शनिबार जनाएको छ ।


एक टेलिफोन वार्ताका क्रममा दुवै मन्त्रीहरूले अमेरिका र इरानबीच चलिरहेको वार्ताका बारेमा छलफल गर्नुका साथै यो प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता ल्याउने आशा व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार साउदी विदेशमन्त्रीले वार्ता प्रक्रियाभरि मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानको निरन्तर र दिगो प्रयासको प्रशंसा गर्नुभयो ।
दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा आयोजना हुने क्षेत्रीय चार विदेशमन्त्रीहरूको आगामी बैठकको तयारीका बारेमा पनि छलफल गरेका छन् । पाकिस्तानले यस क्षेत्रमा संवादलाई प्रवद्र्धन गर्ने र तनाव कम गर्ने उद्देश्यका साथ कूटनीतिक प्रयासहरूलाई सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।





