विश्वकप अन्तर्गत सोमबार बिहान दुई खेल हुदै

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह इ को पहिलो खेलमा आइभोरी कोस्ट र इक्वेडर आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार  सोमबार बिहान ४: ४५ बजेदेखि फिलाडेल्फिया रंगशालामा हुदैछ ।

आइभोरी कोस्टले आफ्नो पहिलो खेलअघि टिम चयनमा केही कठिन अवस्था सामना गरिरहेको छ । रोमा क्लबका रक्षक इभान एनदिकाको तिघ्राको चोटका कारण उनी खेलबाट बाहिरिएका छन् । तर अर्का रक्षक ओडिलोन कोसुनुले चोटको शंका पार गर्दै पूर्ण फिट भएपछि भने केहि राहत भएको छ । त्यस्तै इम्यानुएल अग्बाडोसँगै रक्षापंक्ति सम्हाल्ने अपेक्षा गरिएको छ ।

टोली अहिले नयाँ योजनाको चरणमा प्रवेश गरेको छ । अनुभवी अग्रपंक्ति खेलाडी सेबास्टियन हल्लरलाई टिमबाट बाहिर राखिएपछि युवा खेलाडीलाई मौका मिल्ने भएको छ । युवा आक्रमणमा यान डियोमान्डे र अमाद डियालो प्रमुख भूमिकामा देखिने अपेक्षा गरिएको छ । त्यस्तै मुख्य अग्रपंक्ति खेलाडीका लागि इभान गेसान्ड र एलिये वाहीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

यता इक्वेडर पनि उच्च अपेक्षासहित प्रतियोगितामा उत्रिँदै छ । तर कप्तान एनर भालेन्सियाको फिटनेसलाई लिएर टिम चिन्तामा छ । हल्का खुट्टाको चोटका कारण उनको सहभागिता अन्तिम समयमा मात्र तय हुने भएको छ ।

भलेन्सिया खेल्न नसकेमा टोलीको आक्रमणको जिम्मेवारी युवा खेलाडी जोन येबोआ, गोन्जालो प्लाटा र निल्सन एङ्गुलोमा थपिनेछ । इक्वेडरको रक्षापंक्ति भने निकै बलियो मानिएको छ । विलियन पाचो, पिएरो इन्कापिए र पर्भिस एस्टुपिनान जस्ता शीर्ष स्तरका खेलाडीले रक्षालाई सम्हाल्नेछन् । मध्यभागमा मइसेस काइसिडोले खेलको गति नियन्त्रण गर्दै आक्रमण र रक्षा बीचको समन्वय गर्ने प्रमुख जिम्मेवारी पाउनेछन् ।

त्यस्तै सोमबार बिहान विश्वकप अन्तर्गत समूह एफ को पहिलो खेलमा स्वीडेन र ट्युनिसिया खेल्दैछन् । यो खेल मेक्सिकोको गुडालुपेमा रहेको एस्टाडियो मोन्टेरेमा हुनेछ ।

स्वीडेनले २०१८ को क्वाटरफाइनलसम्मको शानदार यात्रालाई दोहोर्याउने लक्ष्यसहित विश्वकपमा पुनः प्रवेश गरेको हो । प्रशिक्षक ग्राहम पोटरले छनोट चरणपछि टोलीलाई पूर्ण रूपमा नयाँ शैलीमा रूपान्तरण गरेका छन् । टिममा ठूला चोटका समस्या भने नरहेको बताइएको छ । डिफेन्डर इमिल होल्म प्रतियोगिता सुरु हुनुअघि नै बाहिरिएका थिए । गेब्रियल गुडमुन्डसन हालै गम्भीर भाइरल समस्यापछि शंकाको घेरामा छन् । आवश्यकता परे ड्यानियल स्वेन्सन वा इलियट स्ट्राउडले विंगमा खेल्ने सम्भावना छ ।

भिक्टर लिन्डेलोफ, एन्थोनी इलांगा, बेन्जामिन न्याग्रेन र अलेक्जान्डर बर्नहार्डसन भने साना समस्या पार गर्दै फिट भएका छन् । लिन्डेलोफले रक्षापंक्तिको केन्द्रमा टोलीको नेतृत्व गर्ने अपेक्षा छ । आक्रमणमा स्वीडेनले शक्तिशाली जोडी भिक्टर योकेरेस र अलेक्जान्डर इसाकलाई मुख्य हतियार बनाउनेछ ।

यता ट्युनिसियाले पनि पूर्ण फिट टोलीसहित खेल्ने तयारी गरेको छ । प्रशिक्षक साब्री लामोशीले बेल्जियमसँगको हारपछि टोलीमा केही परिवर्तन गर्ने संकेत दिएका छन् । मिडफिल्डमा हानिबाल मेज्ब्रीले पुनः सुरुआती स्थान पाउने सम्भावना छ भने रानी खेदिरा पनि टोलीमा फर्किने अपेक्षा गरिएको छ । पूर्व आर्सनल युवा खेलाडी ओमार रेकिकले रक्षापंक्ति सम्हाल्नेछन् । गोलपोष्टमा मोहिब चामाख सुरुआत गर्ने सम्भावना छ ।

images