
काठमाडौँ । अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौता भएको दाबी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम रूप दिइएको बताएका छन् भने इरानले पनि लामो र कठिन वार्तापछि दुवै देशबीच समझदारीपत्र (एमओयू) तयार भएको जनाएको छ ।
ट्रम्पले यस सम्झौताअनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य पुनः खुलाइने र इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाइने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देशले आगामी जुन १९ मा स्विट्जरल्यान्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । यदि यो प्रक्रिया सम्पन्न भएमा तेहरान र वाशिङ्टनबीच ४७ वर्षयताकै उच्चस्तरीय भेटवार्ता हुनेछ ।


यद्यपि, अमेरिका–इरानबीच भएको समझदारीपत्रको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। इरानी सञ्चारमाध्यमका अनुसार उक्त दस्तावेजमा युद्ध तथा सैन्य गतिविधि रोक्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानको रोक्का गरिएको केही रकम फुकुवा गर्ने तथा आणविक कार्यक्रम र प्रतिबन्धसम्बन्धी विषयमा आगामी ६० दिनसम्म वार्ताको ढाँचा तय गर्ने विषय समेटिएका छन् ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले समझदारीपत्रमा हस्ताक्षरपछि सुरु हुने ६० दिने वार्ता अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा गरेपछि मात्र प्रभावकारी रूपमा अघि बढ्ने बताएका छन् । उनका अनुसार अमेरिकाले तीनवटा मुख्य कदम चाल्नुपर्नेछ। पहिलो, नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्नेछ। दोस्रो, युद्ध तथा सबै सैन्य गतिविधि रोक्नुपर्नेछ। तेस्रो, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्नेछ।





