शनिबारदेखि राजविराजमा सुरु भएको राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री चैतको अन्तिम सातामा शान्तिप्रक्रियाको अन्तिमरुप दिनेमा आफू आशावादी रहेको बताउँदै १४ जेठ अगावै संविधान जारी गर्नतर्फ आफूहरू लागेको जिकिर गरे ।
‘६ हजार ५ सय लडाकु नेपाली सेनामा समयोजन हुनेछ’, प्रधानमन्त्री भट्टराईले भने, ‘बाँकीलाई अरुतिर लगाउनेबारे दलहरुभित्र छलफल भइरहेको छ ।’
वर्तमान सरकारको मूल लक्ष्य शान्ति र संविधान रहेको चर्चा गर्दै प्रधानमन्त्री भट्टराईले जुनसुकै हालतमा यो दुवैलाई पूरा गरेर छाड्ने दाबी गरे ।
‘संघीयताको सवालमा सरकार गम्भीर छ’, उनले भने, ‘संघीयता बिनाको संविधान जारी हुन लागेको भनी बाहिर चलेका हल्ला निराधार छन्, संघीयतासहितको पूर्ण संविधान जारी गर्न सरकार कटिबद्ध छ ।’ नयाँ संविधानमा मधेसी आदिवासी, जनजातिलाई सहभागिता गराउने उनले विश्वास व्यक्त गरे ।
‘मिथिला र मधेसको स्वायत्तता प्रति सरकार सजग छ’, मैथिली भाषामा अभिब्यक्ति दिएका प्रधानमन्त्री भट्टराईले अगाडि भने, ‘जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको मूल भावनालाई नयाँ संविधानमा उल्लेख हुनेछ ।’
सम्मलेन उद्घाटनको समाप्तिमा प्रधानमन्त्री भट्टराईले स्थानीय पब्लिक विन्देश्वरी माविका पूर्व प्रधानाध्यापक रामचन्द्र झाको शालिकलाई अनवारण गरेका थिए ।
करिब २० मिनेटसम्म आफ्ना अभिव्यक्ति दिएका प्रधानमन्त्री भट्टराईले मैथिली भाषामा लिखित अभिब्यक्ति दिएका थिए ।
यसअघि स्थानीय केअ माविबाट सयौंको संख्यामा मैथिली समुदायहरुको झाँकी नगरको विभिन्न भागमा परिक्रमा गरेको थियो ।
दुई दिनसम्म चल्ने राष्ट्रिय मैथिली सम्मेलनमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका तीन सय भन्दा बढी मैथिली बुद्धिजिवी, साहित्यकार, शिक्षक सहितको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक विष्णुकुमार मण्डलले जानकारी दिए ।



