७६ बर्षका भए बलिवुड अभिनेता मिथुन चक्रवर्ती

काठमाडौँ । बलिवुडका चर्चित अभिनेता मिथुन चक्रवर्ती आज ७६ वर्षका भएका छन् । हिन्दी सिनेमामा आफ्नै छुट्टै पहिचान बनाएका उनी पछिल्ला वर्षहरूमा पनि सक्रिय छन् । गएको वर्ष उनलाई दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो ।

मिथुन चक्रवर्तीको जन्म सन् १९५० जुन १६ मा कोलकातामा भएको हो । उनको वास्तविक नाम गौराङ्ग चक्रवर्ती हो । सुरुका दिनमा उनी नक्सली आन्दोलनसँग जोडिएका थिए भन्ने चर्चा पनि छ । तर भाइको करेन्ट लागेर निधन भएपछि उनी परिवारमा फर्किए र पछि अभिनयतर्फ लागेको बताइन्छ । उनले पुणेस्थित फिल्म तथा टेलिभिजन अध्ययन संस्थानबाट अभिनय सिकेका थिए ।

अभिनय यात्राको सुरुवाती चरण उनका लागि निकै कठिन रह्यो । कामको खोजीमा उनी लामो समय गरिबीमा बाँच्न बाध्य भए । कहिलेकाहीँ दिनभरि भोकै बस्नुपरेको अवस्था पनि आएको बताइन्छ । उनी कहिले हेलन र रेखाजस्ता चर्चित अभिनेत्रीका सहायकका रूपमा समेत काम गर्थे । त्यतिबेला उनले आफ्नो नामसमेत परिवर्तन गरेका थिए । तर निरन्तरको मेहनत र लगनले उनलाई अन्ततः हिन्दी सिनेमाको शीर्ष कलाकार बनायो ।

मिथुन चक्रवर्तीको फिल्म ‘डिस्को डान्सर’ ले ठूलो सफलता पायो । यो फिल्म १०० करोडभन्दा बढी कमाउने पहिलो भारतीय फिल्म बनेको मानिन्छ । त्यसपछि उनी देश–विदेशमा अत्यन्त लोकप्रिय बने । सन् १९८४ मा आएको ‘जाग उठा इन्सान’ फिल्ममा मिथुन र श्रीदेवीले पहिलो पटक सँगै काम गरेका थिए । यही समयमा उनीहरूबीच सम्बन्धको चर्चा पनि चलेको थियो । मिथुनले एक अन्तर्वार्तामा श्रीदेवीसँग गोप्य विवाह भएको स्वीकार गरेको कुरा पनि सार्वजनिक भएको थियो ।

उनका भारतको मुम्बई र ऊटी दुवै ठाउँमा घर छन् । मुम्बईको घरमा ३८ वटा कुकुर छन् भने ऊटीको घरमा करिब ७६ वटा कुकुर पालिएको बताइन्छ ।

उनी अहिलेसम्म ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । सन् १९८९ मा मात्रै उनका १९ फिल्म एकै वर्ष प्रदर्शनमा आएका थिए, जुन कीर्तिमान अझैसम्म तोडिएको छैन । मिथुन चक्रवर्तीलाई पद्म भूषणबाट पनि सम्मानित गरिएको छ। उनको लामो अभिनय यात्रा र निरन्तर सक्रियताले उनलाई भारतीय चलचित्र इतिहासका विशेष कलाकारमध्ये एक बनाएको छ ।