पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागसँगै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा आज तातो दिनको अवस्था रहने सम्भावना छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी प्रदेशका तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।