काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन बैद्य पक्ष पूर्व राजा ज्ञानेन्द र उनी निकट व्यक्तिहरुसंग नजिक भएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले राष्ट्रिय स्वाधीनताका नाममा बैद्य पक्ष आश्चर्यजनक रुपमा पूर्व राजावादीसंग नजिक हुनु गंभीर कुरा भएको बताए ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आइतबार वाइसीएल नेताहरुहरुलाई प्रशिक्षण दिदै उनले जतिसुकै षड्यन्त्र भए पनि शान्ति र संविधान निश्कर्षमा पुग्ने बताए । उनले शान्ति र संविधान निर्माण प्रक्रियाको बिरोध गर्नुको अर्थ नभएको पनि जनाए ।
‘पार्टीभित्र दुई लाइन संघर्ष राजनीतिक र वैचारिक हो । किरण -बैद्य) जीहरुले चुनबाङ बैठकको कार्यदिशा, १२ बुँदे सहमति, विस्तृत शानित सम्झौता, अन्तरिम संविधान गलत थियो भन्न पनि सक्नु हुन्न । शाति र संधिवान निर्माण प्रक्रियाको पनि बिरोध गरिरहनुभएको छ’ वाइसीएल प्रशिक्षणमा सहभागी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले दाहालको भनाइ उद्धृत गर्दै भने, ‘यसले पूर्व राजा ज्ञानेन्द्र, कमल थापासंग लाइन मिलेजस्तो देखियो । यो बिषय गंभीर छ ।’
देशभरबाट आएका करिब २ सय वाइसीएल नेताहरुलाई करिब डेढ घण्टा प्रशिक्षण दिएका थिए । पार्टीभित्रको अन्तरसंघर्षका कारण शान्ति र संविधानलाई गति दिन ढिलाइ भएको उनको धारण थियो । बैद्य पक्षभित्र पनि दुई खेमा रहेको उल्लेख गर्दै दाहालले स्वयं बैद्यले फरक मत राखे पनि पार्टी फुटाउने पक्षमा नभएको बताएका थिए ।
‘किरण पक्षभित्र पनि केही नेता पार्टी फोडेर जनयुद्ध गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, केही कार्यदिशामा मतभेद भए पनि पार्टी एक गर्ने पक्षमा हुनुहुन्छ’ दाहाललाई उद्धृत गर्दै वाइसीएल उपत्यका संयोजक एबं सभासद् चन्द्र्रबहादुरथापाले भने, ‘किरणजी पार्टी एकताको पक्षमा हुनुहुन्छ र उहा सकरात्मक हुनुहुन्छ ।’ उनले महासचिब रामबहादुर थापा, सचिब सीपी गजुरेल र स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द छुट्टै पार्टी गठन गर्ने तयारीमा भएको आरोप लगाए । संस्थापनको यो आरोपलाई बैद्य पक्षले आफ्नो विचार समूहलाई कमजोर गराउने ‘प्रचार’ भन्दै तीब्र आलोचना गर्दै आएका छन् ।
वाईसीएललाई सक्रिय गराइने
बैद्य पक्षले छुट्टै सांगठिनक संरचना बनाएपछि केन्द्रीय कार्यालयमा वाईसीएलका नेताहरुलाई माओवादीले भेला गरी पुनः देशव्यापी परिचालन गरी सक्रिय बनाउने निर्णय गरेको छ । उपत्यका संयोजक थापाका अनुसार हाल निस्क्रिय रहेको संगठनलाई केन्द्रदेखि गाउँस्तरसम्म सक्रिय गराइने छ ।
‘दुई बर्षसम्म निस्क्रिय रहेको संगठनलाई देशब्यापी रुपमा सक्रिय गराउने निर्णय भएको छ’ उनले भने, ‘तोकिएकै समयमा शान्ति र संविधान निर्माणमा सहयोग पुर्याउने गरी परिचालन गरिने छ ।’ बिगतमा विभिन्न बिवादमा पर्दै आएको वाईसीएलले संस्थापन पक्षलाई बल पुग्ने गरी कार्यक्रम लिएर जाने तयारी गरेको छ । उसले ‘जनसेवा, विकास निर्माणका काम, जनसुरक्षा’ लगायत कार्यक्रम चलाउने थापाले जनाए । युवा बेरोजगारी समस्याको कुरा उठाउन थापाको संयोजकत्वमा ‘युवा वेरोजगार संघ’ पनि माओवादीले गठन गरेका छ । भेलामा बैद्य पक्षका वाईसीइएल नेता सहभागी भएनन् ।
बैद्य पक्षको छुट्टै अभियान
काठमाडौ- माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले राजधानीका १५ ओटै निर्वाचन क्षेत्रमा सोमबार सम्मानजनक ‘शान्ति प्रक्रिया र जनसंविधान’ को पक्षमा भन्दै हस्ताक्षर अभियान चलाउने तयारी गरेको छ ।
सोमबार नया वानेश्वरमा वैद्यको नेतृत्वमा काठमाडौ जिल्ला पार्टीको टोली, चाबहिलमा महासचिव रामवहादुर थापाको नेतृत्वमा हस्ताक्षर अभियान चलाउने उक्त पक्षले जनाएको छ ।
वौद्धमा केन्द्रीय सदस्य सुरेश आले मगरको नेतृत्वमा, कोटेश्वरमा केन्द्रीय सदस्य दिनेश शर्माको नेतृत्वमा, वसुन्धरा चोकमा महेश्वर दाहालको नेतृत्वमा, गोगंवुमा कृष्णध्वज खडकाको नेतृत्वम, वालाजुचोकमा रेखा शर्माको नेतृत्वमा, इन्द्रचोकमा पवनमान श्रेष्ठको नेतृत्वमा, कलंकीचोकमा नारायण शर्माको नेतृत्वमा र कीर्तिपुरमा हितमान शाक्यको नेतृत्वमा हस्ताक्षर संकलन गर्ने तय गरेको छ ।
ललितपुरको चापागाउमा केन्द्रीय सदस्य दिलिप प्रजापतिको नेतृत्वमा, लगनखेलमा पोलिटब्युरो सदस्य पम्फा भुषाल, मंगलवजारमा स्थायी समिति सदस्य देव गुरुङ, भक्तपरु पाच तले मन्दिरमा इन्द्रमोहन सिग्देल, शंखध्वर चोकमा यशोदा सुवेदीलाई अभियानमा बैद्य पक्षले खटाएको छ । – कान्तिपुर



