
काठमाडौं । कोलम्बियाले विश्वकपमा डेब्यु टोली उज्बेकिस्तानलाई पराजित गरेको छ । एस्तादियो अज्टेका मैदानमा भएको खेलमा कोलम्बियाले ३–१ को जित निकाल्दै समूह केमा शीर्ष स्थान हासिल गरेको हो ।
सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाले यसपटक मजबुत सुरुआत गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ । खेलको २०औँ मिनेटमा ड्यानियल मुन्योसले उत्कृष्ट भली प्रहारमार्फत कोलम्बियालाई अग्रता दिलाएका थिए । लुइस डियाजको सुन्दर पासलाई नियन्त्रण गर्दै उनले नजिकको दूरीबाट बल जाली चुमाएका थिए । त्यसअघि नै डियाजले नै गोल गर्ने राम्रो अवसर पाएका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

इटालियन विश्वकप विजेता डिफेन्डर फाबियो कानाभारोको प्रशिक्षणमा रहेको उज्बेकिस्तानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो । ६०औँ मिनेटमा अब्बोसबेक फाइजुलाएभले गोल गर्दै टोलीलाई १-१ को स्थितिमा पुर्याएका थिए । कोलम्बियाका गोलरक्षक क्यामिलो भार्गासले रोकेको बलमा उनले हेडमार्फत गोल गरेका थिए । तर कोलम्बियाले लामो समय अग्रता गुमाउन दिएन । केही समयमै लुइस डियाजले गरेको प्रहार उज्बेकिस्तानका गोलरक्षक उत्किर युसुपोभले दुई हातले छोए पनि बल जालीमा पुगेपछि कोलम्बियाले फेरि अग्रता लिएको थियो ।


खेलको अन्त्यतिर उज्बेकिस्तानले बराबरी गर्ने अवसर पाएको थियो । अकमाल मोजगोभोयको प्रहार थोरै टाढा हुँदै बाहिरिएको थियो भने अतिरिक्त समयमा जाखोङ्गिर उरोजभको प्रहार बारमा ठोक्किएको थियो ।
त्यसपछि वैकल्पिक खेलाडी जामिन्टोन क्याम्पाजले तेस्रो गोल थप्दै कोलम्बियाको जित सुनिश्चित गरेका थिए ।

फिफा वरियतामा ५०औँ स्थानमा रहेको उज्बेकिस्तानले बलियो प्रदर्शन गरे पनि अन्तिम क्षणमा खेल आफ्नो पक्षमा ल्याउन सकेन र कोलम्बियाले महत्वपूर्ण जित हात पार्यो ।
अब कोलम्बियाले अर्को खेल जुन २४ मा डिआर कंगोसँग र जुन २८ मा पोर्चुगलसँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले भने जुन २३ मा पोर्चुगलसँग र जुन २८ मा डिआर कंगोसँग खेल्ने तालिका छ ।





