झापामा पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानविनका लागि समिति गठन, परिवारलाई दश लाख रुपैयाँ राहत

काठमाडौ  –  मन्त्रिपरिषदको बैठकले झापामा पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी हत्या गरिएका पत्रकार पौडेलका परिवारलाई दश लाख रुपैयाँ राहत दिने पनि निर्णय गरको छ ।

अर्थमन्त्री वर्षमान पुनका अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पौडेलको हत्या सम्बन्धमा छानविन गर्न अध्यक्ष र सदस्यहरु गृह मन्त्रालयले तोक्ने गरी समिति बनाउने निर्णय गरेको हो । साथै स्थानीय प्रशासनलाई दोषीमाथि कारवाहीको निर्देशन दिएको छ ।

त्यसैगरी बैठकले स्वेच्छिक अवकाशमा जाने लडाकुलाई आवश्यक पर्ने रकम शान्ति मन्त्रालयलाई निकासा दिन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । यसका लागि एक अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।

त्यस्तै पूर्व मन्त्री सिद्धराज ओझा, पत्रकार गोपाल थपलिया, लोकसेवा आयोगका सदस्य टिकादत्त निरौलाको उपचार खर्च सरकारले बेहोर्ने पनि निर्णय गरेको छ ।

साथै लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसार गर्न एक सयको नोटमा बुद्ध नेपालमा जन्मेको उल्लेख गर्ने निर्णय गरेको छ ।

नेपाली सेनाको रिक्त उपरथी पदमा सहायकरथी प्रेमप्रकाश थापा र सहायकरथीमा महासेनानी दीपक कार्कीलाई बढुवाको निर्णय पनि गरेको छ । गोरखाका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमा मार्फत् राहत दिने निर्णय पनि गरेको छ ।  –कान्तिपुर