विश्वकप फुटबलको विज्ञापन बजारमा ठूला ब्रान्ड आमने सामने

काठमाडौँ । फिफा फुटबल विश्वकप केवल खेल होइन, यहाँ सबै कुरा अंक र तथ्याङ्कमा टेकेर चल्छ । कुन टोलीले धेरै गोल गर्‍यो, कसले नकआउट चरणमा पुग्न पर्याप्त अंक जोड्यो—यी सबै कुरा संख्याले नै तय गर्छ । त्यही नियम व्यापार र ब्रान्डको दुनियाँमा पनि लाग्छ । कुन कम्पनीको बजार मूल्य सबैभन्दा ठूलो छ, कसले सबैभन्दा धेरै उत्पादन बेचिरहेको छ भन्ने कुरा पनि अन्ततः अंकमै पुगेर टुंगिन्छ । यस पटक विश्वकपको चर्चा मैदानभन्दा बाहिर पनि निकै तातेको छ, खासगरी खेल सामग्री बनाउने ठूला ब्रान्डबीच ।

विश्वका चर्चित खेलाडी र स्टारहरूलाई समेटेर ब्रान्डहरूले महँगो विज्ञापन बनाएका छन् ।

नाइकीको विज्ञापनमा किलियन एम्बाप्पे, इर्लिङ हालान्ड, क्रिस्टियानो रोनाल्डो र लेब्रोन जेम्स जस्ता विश्वस्तरीय नाम देखिन्छन् । उता एडिडासले ‘ब्याकयार्ड लेजेन्ड्स’ नामको विज्ञापनमा लामिन यमल, जुड बेलिङहम, लियोनल मेसी र जिनेदिन जिदानलाई देखाएको छ । यहाँसम्म कि एआई प्रविधिबाट बनाइएको डेभिड बेकह्याम पनि देखिन्छ ।

यी विज्ञापनहरू साधारण टिभी विज्ञापनभन्दा धेरै ठूला चलचित्र जस्ता देखिन्छन् । रिपोर्टअनुसार एडिडासले मात्र आफ्नो विज्ञापन बनाउन करिब ६६ मिलियन डलर खर्च गरेको छ ।

दुवै कम्पनीले खर्चको विवरण सार्वजनिक गरेका छैनन्, तर खर्च भने करोडौँ डलर पुगेको अनुमान छ । अनलाइन दर्शकको हिसाबले भने नाइकीको विज्ञापन धेरै अगाडि देखिएको छ । नाइकीको भिडियोले ७ करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ भने एडिडासको करिब ७० लाखको हाराहारीमा मात्र छ ।

नाइकीका अधिकारीले भने अहिले दर्शकले सामग्री हेर्ने तरिका परिवर्तन भएको र अब केवल एउटा ठूलो भिडियोले मात्र काम नचल्ने बताएका छन् । उनका अनुसार अब ब्रान्डले फुटबल संस्कृतिसँग जोडिने फराकिलो संसार बनाउनुपर्छ, जहाँ फ्यानले सामग्रीलाई आफ्नै तरिकाले प्रयोग र साझा गर्न सकून् ।

एडिडासको विश्वकपसँग लामो इतिहास छ । सन् १९७० देखि नै उसले विश्वकपका लागि चर्चित बल बनाउँदै आएको छ । कम्पनीका एक वरिष्ठ अधिकारीका अनुसार उनीहरूले फ्यानलाई वास्तविक जीवनको फुटबल अनुभवसँग जोड्ने प्रयास गरेका छन्, जहाँ खेल मैदान, साथी समूह र फुटबल कथाहरू मिलेर संस्कृतिको रूप लिन्छन् ।

यस पटकको विश्वकपको चर्चा अमेरिकामा पनि तीव्र छ । न्यूयोर्कमा नाइकी र एडिडासका स्टोरहरू आमनेसामने छन् । तर दृश्य फरक देखिन्छ । एडिडासको स्टोरमा विश्वकपको झन्डा, जर्सी र सामानले भरिएको छ । उता नाइकी भने हालैको बास्केटबल सफलताका कारण स्थानीय टिमसँग बढी केन्द्रित देखिन्छ । न्यूयोर्कभरि पनि एडिडासको उपस्थिति बढी देखिएको छ. पप-अप स्टोरदेखि विज्ञापनसम्म।

विशेषज्ञहरूका अनुसार अहिले फुटबल केवल खेल मात्र होइन, फेसन र पहिचानसँग पनि जोडिएको छ । जापान र कुरासाओ जस्ता देशका जर्सीहरू केवल खेल पोशाक नभई युवापुस्तामा स्टाइल र पहिचानको प्रतीक बनेका छन् । यसले फुटबल जर्सीलाई दैनिक जीवनको फेसनसँग जोडिदिएको छ ।

images

१९९८ फ्रान्स विश्वकपको विमानस्थल विज्ञापनदेखि २००६ को प्रसिद्ध ‘जोसे +१०’ अभियानसम्मका पुराना विज्ञापन अझै पनि फ्यानको सम्झनामा ताजा छन् । विशेषज्ञका अनुसार अहिले सामाजिक सञ्जालले विज्ञापन हेर्ने तरिका नै बदलिदिएको छ । पहिले लामो भिडियो हेर्ने चलन थियो, अहिले छोटा क्लिप र रील्स बढी चल्छन् ।

एडिडाससँग १४ राष्ट्रिय टोलीका जर्सी छन् भने नाइकीसँग १२ । प्यूमासहित अन्य ब्रान्ड पनि प्रतिस्पर्धामा छन् । तर अन्ततः कसले बढी कमायो, कसले बजारमा प्रभुत्व जमायो भन्ने कुरा अझै स्पष्ट छैन । यसको सही मूल्याङ्कन विश्वकप सकिएपछि मात्र देखिनेछ । अन्ततः यो प्रतिस्पर्धा पनि उही पुरानो नियममा फर्किन्छ, सबै कुरा अंकमै निर्भर हुन्छ ।

images