
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्नसके कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउने दाबी गर्नुभएको छ ।
शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले हाल प्रतिनिधि सभामा पार्टीको १७ सिट रहेको उल्लेख गर्दै जनतालाई सही ढङ्गले प्रशिक्षित गर्नसके कम्युनिस्ट शक्ति पुनः स्थापित हुनेमा कुनै द्विविधा नरहेको बताउनुभएको हो ।
नेता पुनले क्रान्तिकारी विचारको निरन्तरता नभएमा आन्दोलनले माथि उठाएको वर्ग नै प्रतिक्रान्तिको सहयोगी बन्नसक्ने जोखिम औँल्याउनु भयो । बदलिँदो विश्व परिवेशको विश्लेषण गर्दै नेता पुनले भूमण्डलीकरण र डिजिटल पुँजीवादले सिर्जना गरेका चुनौतीहरूबारे समेत सचेत गराउनु भयो । पुँजीवादले हरेक क्षेत्रलाई डिजिटल र भर्चुअल माध्यमबाट नियन्त्रण गरिरहेको उल्लेख गर्दै उहाँले यसको गहन अध्ययन गरी श्रमजीवी जनताको पक्षमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले भन्नुभयो, ‘अहिले पनि हामी १७ सिटमै छौँ । अब आगामी निर्वाचनमा हामीले जनतालाई सङ्गठित गरेर नयाँ आन्दोलनका ज्वारभाटा ल्याउन सक्यौँ भने नेपाली कम्युनिस्ट पार्टी फेरि शक्तिमा आउनेछ, यसमा कुनै द्विविधा छैन । त्यसका लागि हामीले प्रशिक्षण दिनैपर्ने हुन्छ । होइन भने दुनियाँभरि दुःख–कष्ट बढ्छ, मानिस गरिब र विपन्न बन्छन् । क्रान्तिकारीहरू, कम्युनिस्टहरू क्रान्ति गर्छन्, जग्गा वितरण गर्छन्, रोजगारीको ग्यारेन्टी गर्छन् र मध्यम वर्गको विकास गराउँछन् ।

तर निरन्तर क्रान्तिकारी विचार प्रवाह गरिराखिएन भने के हुन्छ भने, क्रान्तिकारी पार्टी र शक्तिले उकासेर माथि ल्याएको त्यही वर्ग फेरि प्रतिक्रान्तिकारी वा प्रतिक्रान्तिकारी शक्तिलाई सहयोग गर्ने हुनसक्छ । मैले मध्यम वर्गलाई प्रतिक्रान्तिकारी भनिरहेको छैन ।
आखिर ज्ञान कहाँबाट आउँछ र ? ज्ञान हाम्रो अवस्थिति र वरिपरिको भौतिक परिस्थितिबाट आउँछ । अहिले मध्यम वर्ग बढ्दै गएको छ । हाम्रा हरेक घरबाट सन्तानहरू विदेश गइरहेका छन् । भूमण्डलीकरण भएको छ, डिजिटल पुँजीवादको विस्तार भएको छ, र पुँजीवादले धेरैजसो कुरालाई डिजिटल तथा भर्चुअल रूपमा नियन्त्रण गरिरहेको छ । हामीले यो बदलिँदो दुनियाँलाई अध्ययन गर्न, विश्लेषण गर्न र त्यसलाई श्रमजीवी जनताको पक्षमा उपयोग गर्न सकेनौँ भने हामी हार्छौँ नै ।’

वैदेशिक रोजगारीका कारण नेपाली समाजमा परिरहेको प्रभाव र बदलिँदो भौतिक अवस्थाले मानिसको चेतनामा परिवर्तन ल्याइरहेको उहाँको तर्क छ । नेता पुनले वर्तमान विश्वको बदलिँदो स्वरूपलाई सही ढङ्गले विश्लेषण गरी जनताको पक्षमा काम गर्न नसके आन्दोलनले क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिनुभयो ।





