अस्फनिस्तानविरुद्ध एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

काठमाडौँ । भारतले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै तीन खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा गएराती अफगानिस्तानले भारतलाई २१९ रनको लक्ष्य दिएको थियो । जवाफमा भारतले २८.४ ओभरमा एक विकेट गुमाएर २२४ रन बनाउँदै सहज जित निकाल्यो ।

भारतको जितमा यशस्वी जायसवालले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दोस्रो एकदिवसीय शतक पूरा गरे । उनले अविजित ११० रन बनाउने क्रममा १४ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहित शर्माले ७९ रनको महत्वपूर्ण योगदान दिए । उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । जायसवाल र रोहितले पहिलो विकेटका लागि १७० रनको साझेदारी गर्दै भारतको जितको आधार तयार पारेका थिए । त्यस्तै श्रेयस अय्यर २० रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४४.२ ओभरमा २१८ रनमा समेटिएको थियो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले आफ्नो एकदिवसीय करिअरको पहिलो शतक बनाउँदै १०२ रनको उत्कृष्ट इनिङ्स खेले भने अज्मतुल्लाह उमरजईले ५० रन जोडेका थिए ।

भारतका लागि प्रसिद्ध कृष्णाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने गुरनूर बरार, हर्ष दुबे र प्रिन्स यादवले समान एक-एक विकेट लिएका थिए ।

यस सिरिजमा जित हासिल गरेसँगै शुभमन गिलले भारतीय कप्तानका रूपमा आफ्नो पहिलो एकदिवसीय सिरिज जितेका छन् ।

यसअघि उनको कप्तानीमा भारत अस्ट्रेलियासँग २-१ ले पराजित भएको थियो भने दक्षिण अफ्रिकाविरुद्ध भारतले २-१ ले शृङ्खला जिते पनि त्यसबेला टोलीको कप्तानी केएल राहुलले गरेका थिए । त्यसैगरी, घरेलु मैदानमा भएको न्युजिल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले २-१ को हार बेहोरेको थियो ।