
काठमाडौँ । ट्युनिसियाको निराशाजनक विश्वकप अभियान जापानसँगको पराजयपछि समूह चरणमै समाप्त भएको छ ।
स्विडेनसँग ५-१ को फराकिलो हार बेहोरेपछि प्रशिक्षक साब्री लामुचीलाई बर्खास्त गरी पूर्व साउदी अरेबिया प्रशिक्षक हेर्भे रेनार्डलाई जिम्मेवारी दिएको ट्युनिसियाले नयाँ प्रशिक्षकको आगमनपछि पनि सुधारिएको प्रदर्शन गर्न सकेन । मेक्सिकोको ग्वाडालुपेमा भएको खेलमा ट्युनिसिया जापानसँग ४-० गोल अन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको छ ।


खेलको चौथो मिनेटमै ट्युनिसिया पछि परेको थियो । तीव्र प्रत्याक्रमणलाई उत्कृष्ट रूपमा उपयोग गर्दै जापानका डाइची कामाडाले नजिकको दूरीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि आयासे उएदाले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक प्रहार गर्दै एक रक्षकको खुट्टाबीचबाट बललाई जालीको कुनामा पठाए र जापानको अग्रता दोब्बर बनाए । खेलभर ट्युनिसिया योजनाविहीन देखियो भने जापानले बल नियन्त्रणमा आधारित आफ्नो आकर्षक शैली प्रस्तुत गर्दै खेलमाथि पूर्ण पकड कायम राख्यो । जुन्या इतोले एक्लै अघि बढ्ने अवसर पाएपछि सहज गोल गर्दै जापानको तेस्रो गोल थपे । त्यसपछि उएदाले हावामा आएको बललाई हेडमार्फत जालीको कुनामा पठाउँदै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए ।

जापानले खेलभर स्पष्ट रूपमा आफ्नो वर्चस्व कायम राख्यो। ट्युनिसियाको प्रत्येक आक्रमण सजिलै रोकियो र टोलीले प्रभावशाली प्रदर्शन गर्न सकेन ।
यस जितसँगै जापानले चार अंक जोडेको छ र अर्को चरण पुग्ने सम्भावना बलियो बनाएको छ । जापानले समूह चरणको अन्तिम खेल शुक्रबार स्विडेनविरुद्ध खेल्नेछ, जहाँ जित हासिल गरे अन्तिम ३२ मा स्थान पक्का हुनेछ ।

उता, विश्वकपको अर्को चरणबाट बाहिरिएको ट्युनिसियाले समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्ससँग सोही समयमा प्रतिस्पर्धा गर्नेछ ।




