समायोजनमा जाने लडाकूको संख्या यसअघि दलहरुले तय गरेको संख्या ६ हजार ५ सय भन्दा कम हुन सक्ने विशेष समिति अन्तर्गतको सचिवालय सदस्य समेत रहेका एकजना माओवादी डिभिजन कमाण्डरले बताएका छन्।
उनका अनुसार माओवादीले मापदण्डमा पर्ने लडाकूलाई मात्र समायोजनमा पठाउने तयारी शुरु गरेको छ।
डिभिजन कमाण्डर तेजबहादुर ओलीसँगको कुराकानीबाट समायोजनमा जाने लडाकुको संख्या ६ हजार ५ सय भन्दा कम हुने संकेत मिल्छ।
उनी भन्छन्, “सामान्यत मापदण्ड नपुग्नेहरु प्रक्रियामा नजाउन्, गएर फर्किन नपरोस भनेर गहिरो छनोट प्रक्रिया सम्पन्न गरेर पठाउने सोचेका हौं । सकभर ६ हजार ५ सय भन्दा तल झार्ने प्रयास हाम्रो हुँदैछ।”
समायोजन रोजेका नौ हजार सात सय लडाकुहरुको संख्या घटाएर बढिमा ६ हजार ५ सय पुर्याउने कामका लागि विशेष समिति अन्तर्गतको सचिवालय सदस्यहरु मुख्य शिविरहरुतर्फ लागिसकेका छन्।
सचिवालयले आइतबार पुनर्वर्गिकरण थाल्ने बताए पनि माओवादीले भने आन्तरिक तयारी पुरा नभएको भन्दै सोमबारदेखि काम शुरु हुनसक्ने बताएको छ।
सातबुँदे सहमति र सैनिक नियम अनुसार सचिवालयले तयार पारेको कार्यतालिका र कार्ययोजना अनुसार चैत मसान्तमै माओवादी लडाकू र शिविरहरु सेनालाई हस्तान्तरण गरिने कार्यक्रम रहेको सचिवालय सदस्य डा शम्भुराम सिंखडाले बताए।
उनले भने, “हाम्रो कार्ययोजना अनुसार चैत ३० गतेभित्र हतियार कन्टेनरमा राख्ने, समायोजनमा जाने लडाकूको सूची र शिविरहरुको सुरक्षा सेनालाई सुम्पिने कार्यक्रम छ।”
सचिवालयले तयार पारेको कार्ययोजना र कार्यतालिका बमोजिम समायोजनमा जानेहरुको संख्या निश्चित भइसकेपछि अधिकृतहरुलाई भरतपुरमा र अरुलाई पायक पर्ने सैनिक कार्यालयहरुमा तालिमका लागि पठाइने तय भइसकेको बताइएको छ।
तीन प्रमुख दलहरुबीच सेना समायोजनमा मिल्न बाँकी रहेका विषयहरु: महानिर्देशनालयको संरचना, छनोट समिति, दर्जा निर्धारण र तालिमको अवधीबारे छलफल गर्न दलहरुबीच बैठक तय गरिएको छ।