
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले राजनीतिमा स्थापित हुन कुनै समूह वा गुटको फेरो समात्नुको सट्टा जनताको आस्था र विश्वास जित्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले परम्परागत राजनीतिक संस्कारको आडमा हुने गुटबन्दीको कडा आलोचना गर्नुभयो ।
सम्बोधनका क्रममा नेता शाहले पार्टीभित्र मौलाउन सक्ने गुट र उपगुटको संस्कृतितर्फ सचेत गराउनु भयो । उहाँले नयाँ पार्टी भएकाले पुराना दलका खराब आचरणबाट सिकेर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री साहले सरकारको प्राथमिकताका बारेमा स्पष्ट पार्दै सुशासन कायम गर्नु र सुकुम्वासी तथा सहकारी क्षेत्रका विद्यमान समस्या समाधान गर्नु नै मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो । पार्टीको एकल सरकार रहेकाले सरकार र संगठनबीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा उहाँको विशेष जोड थियो । उहाँले पार्टीका हरेक तहका नेता, कार्यकर्ता र शुभचिन्तकलाई सरकारको अभिन्न अङ्ग महसुस गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा पद प्राप्त नभए पनि निराश नहुन आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो, “राम्रो राजनीतिज्ञ बन्न जनताको माया र भरोसा चाहिन्छ, कुनै समूहको छहारी होइन। भविष्यमा रुख बनेर काट्नुपर्ने गरी गुटबन्दीको बीजारोपण अहिले नै नगरौँ । हामीले सुशासन र सुकुम्वासी समस्या समाधानको जुन एजेण्डा बोकेका छौँ, ती यही कार्यकालभित्रै सम्पन्न गर्नेछौँ । आगामी निर्वाचनमा हामी पुरानै एजेण्डा लिएर होइन, नयाँ कार्यसूचीका साथ जनतामाझ जानेछौँ । हाम्रो एकल पार्टीको सरकार हो, यहाँ हरेक कार्यकर्ता र सांसद प्रधानमन्त्री सरह हुन्। निर्वाचनमा पराजित हुनुभएका साथीहरूले पनि आफूसँग भएका योजना र सुझावहरू पार्टीमार्फत सरकारलाई दिन सक्नुहुनेछ ।’
उहाँले पार्टीको आन्तरिक एकता कायम राख्न आह्वान गर्नुभयो । अहिले महाधिवेशनका क्रममा पार्टीको बारेमा सोचे पनि यसपश्चात्को पाँच वर्ष पूर्ण रूपमा देशको समृद्धिका लागि समर्पित हुनुपर्ने उहाँको भनाइ थियो ।





