माओवादी लडाकु र हतियार नेपाली सेनालाई हस्तान्तरण गरेपछि शान्ति प्रक्रियाको यस कदमको सर्वत्र स्वागत

– माधव ढुङ्गेल

 

सेना समायोजन विशेष समितिले माओवादी लडाकु रहेको शिविरहरु नेपाल सरकारअन्तर्गत नेपाली सेनालाई हस्तान्तरण गरेपछि शान्ति प्रक्रियाको यस कदमको सर्वत्र स्वागत गरिएको छ । दलहरु उत्साहित भएर शान्ति प्रक्रियाका अरु काम पनि सहमतिका साथ टुंग्याउन लागिपरेका छन् । संविधान निर्माणका विवादित विषयमा पनि सहमति बन्ने विश्वास छाएको छ । नागरिकस्तरमा पनि नेताहरुले प्रक्रिया सकाएर संविधान ल्याउने छन् भन्ने आशा जागेको छ ।

यसैक्रममा विभिन्न शिविरहरुमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै माओवादीले प्रयोग गर्दै आएको हतियार नेपाली सेनालाई बुझाउन थालिएको खबरहरु आएका छन् । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा शिविर सुरक्षा र भिआईपीको सुरक्षाका लागि प्रयोग गर्दै आएको ६७ थान हतियार आज सेनालाई हस्तान्तरण गरिएको हो । हिजो ४६ थान हतियार बुझाइएको थियो । ती हतियार कन्टेनरमा राखिएको छ । सेना समायोजन विशेष समितिअन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्माको उपस्थितिमा हतियार हस्तान्तरण गरिएको हो ।

त्यहाँ आज साँझदेखि स्वेच्छिक अबकाशमा जाने लडाकुको बिदाई थालिने संयोजक शर्माले जानकारी दिनुभयो । साँझसम्ममा २ सय जनालाई बिदाई गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । तीन दिनभित्र स्वेच्छिक अवकाशमा जाने लडाकुको विदाई सकाएर समायोजनको काम शुरु गरिने शर्माले बताउनुभयो । शक्तिखोरमा नेपाली सेनाको भरतपुरस्थित शमसेर दल गण र सहायक शिविर भण्डारामा सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् । शक्तिखोर शिविरमा रहेका २ हजार २ सय १४ लडाकु मध्ये अवकाशमा जान एक हजारले नाम टिपाएका छन् ।

लडाकुरहेका अरु शिविरमा पनि समायोजनमा जाने लडाकुहरुको छनौट प्रक्रिया शुरु हुँदैछ । यस अघि समायोजन रोजेका लडाकुलाई फेरि स्वेच्छिक अवकाशमा जाने अवसर दिने निर्णय अनुरुप स्वेच्छिक अवकाश रोज्नेहरुलाई बिदाई गरिने छ । तीन दलवीच भएको सात बुंदे सहमतिमा बढीमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने उल्लेख छ तर यसअघि नौ हजार भन्दा बढी लडाकुले समायोजन रोजेका थिए ।

यसैगरी, सिन्धुलीको दुधौलीस्थित मूख्य शिविर तथा सहायक शिविर बेल्सोतमा हतियार रहेका कन्टेनरहरु नेपाली सेनाले लिएको छ । शिविर सुरक्षा र हतियार रहेको कन्टेनरको सुरक्षाकालागि दोश्रो डिभिजनमा नेपाली सेनाको एक सय र बेल्सोत सहायक शिविरमा ५० जनाको टोली तैनाथ गरिएको छ । लडाकुहरुले सुरक्षाकालागि कन्टेनर बाहिर राखेका हतियारसमेत सेनाको टोलीलाई बुझाएका छन् ।

यसैबीच, लडाकुको समायोजन विधि, प्रक्रिया र दर्जाबारे निर्णय लिन सेना समायोजन विशेष समितिको बैठक बस्दैछ । साँझ बस्ने समितिको बैठकबाट समायोजनपछि बन्ने महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्व, समायोजनको अरु विधि र आचारसंहिता टुंग्याइने छ ।

समायोजन प्रक्रियाले निर्णायक मोड लिन लागेको बेला माओवादी लडाकु रहेका शिविरमा अराजकताको अवस्था उत्पन्न भएपछि विशेष समितिले आकस्मिक निर्णय गरी हिजो सबै शिविर नेपाली सेनाको जिम्मा लगाएको थियो । ६ बर्षअघि शुरु भएको शान्ति प्रक्रियामा यो निर्णय र कार्यान्वयन महत्वपूर्ण मानिएको छ ।