
काठमाडौँ । लामो समयदेखि घट्दो जन्मदरको समस्यासँग जुधिरहेको दक्षिण कोरियाका लागि राहतको खबर आएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अप्रिल महिनामा जन्मिने बालबालिकाको संख्या पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ ।
दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा २४ हजार ५२१ बालबालिकाको जन्म भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो । यो सन् २०१९ यताकै अप्रिल महिनामा दर्ज भएको सबैभन्दा ठूलो संख्या हो । अप्रिल महिनामात्रै होइन, जनवरीदेखि अप्रिलसम्म कुल ९९ हजार ५३४ बालबालिकाको जन्म भएको छ । यो संख्या पनि पछिल्लो सात वर्षयताकै उच्च रहेको र गत वर्षको तुलनामा १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।


विशेषज्ञहरूले विवाहको संख्या बढ्नु र परिवार विस्तारप्रति नागरिकको सोचमा आएको परिवर्तनलाई जन्मदर बढ्नुको मुख्य कारण मानेका छन् । अप्रिल महिनामा विवाहको संख्या पनि ९ प्रतिशतले बढेर २० हजार ६२२ पुगेको छ, जुन पछिल्लो एक दशककै उत्कृष्ट तथ्याङ्कमध्ये एक हो ।

देशको कुल प्रजनन दर पनि बढेको छ। अप्रिलमा यो दर ०.९३ पुगेको छ, जबकि एक वर्षअघि यो ०.८० थियो । यद्यपि, जनसंख्या स्थिर राख्न आवश्यक मानिने २.१ को स्तरभन्दा यो अझै निकै तल रहेको छ । यसबीच सम्बन्धविच्छेदका घटनामा पनि वृद्धि भएको छ । अप्रिल महिनामा सात हजार ८२९ सम्बन्धविच्छेद भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले बढी हो । अर्कोतर्फ, मृत्यु हुनेको संख्या भने सामान्य रूपमा घटेको छ । अप्रिलमा २८ हजार ४०५ जनाको मृत्यु भएको छ, जुन गत वर्षको तुलनामा १.३ प्रतिशतले कम हो ।
यद्यपि जन्मभन्दा मृत्युको संख्या अझै बढी रहेकाले देशको जनसंख्यामा तीन हजार ८८४ जनाको प्राकृतिक कमी आएको छ । त्यसका बाबजुद लगातार केही महिनादेखि जन्मदरमा देखिएको वृद्धि दक्षिण कोरियाका लागि आशाको नयाँ संकेतका रूपमा हेरिएको छ ।

सरकार र विज्ञहरूले यो सकारात्मक प्रवृत्ति आगामी दिनमा पनि कायम रहे घट्दो जनसंख्याको समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।




