
काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा भोली बिहान दुई महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछन् । पाँच पटकको विश्व विजेता ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा मोरक्कोले प्रतियोगिताबाट बाहिरिइसकेको हैटीको सामना गर्नेछ ।
समूहको शीर्ष स्थान र नकआउट चरणको समीकरण दुवै खेलसँग जोडिएको छ । ब्राजिल र मोरक्को शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन् भने स्कटल्यान्ड पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने ऐतिहासिक अवसरको खोजीमा छ ।

दुई खेलपछि ब्राजिल र मोरक्को समान चार-चार अंकमा छन् । गोल अन्तरका आधारमा ब्राजिल शीर्ष स्थानमा छ भने मोरक्को दोस्रो स्थानमा रहेको छ । स्कटल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ भने हैटी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। अन्तिम खेलअघि कुनै पनि टोलीको स्थान परिवर्तन हुन सक्ने भएकाले दुवै खेल निर्णायक बनेका छन् ।


मियामीमा हुने खेलमा स्कटल्यान्डले विश्वकप इतिहास बदल्ने लक्ष्य राखेको छ । हालसम्म कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा समूह चरण पार गर्न नसकेको स्कटल्यान्डलाई नकआउट चरण पुग्न कम्तीमा एक अंक आवश्यक छ । सामान्य अन्तरले हार्दा पनि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आउन सक्छ । स्कटल्यान्डले पहिलो खेलमा हैटीलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा मोरक्कोसँग १-० ले पराजित भएको थियो । प्रशिक्षक स्टिभ क्लार्कको टोली अनुभवका हिसाबले बलियो मानिन्छ । तर विश्वकपमा दक्षिण अमेरिकी टोलीविरुद्ध स्कटल्यान्डको कीर्तिमान निकै कमजोर छ। उसले आठ खेलमध्ये दुई बराबरी र छ हार बेहोरेको छ। तीमध्ये चार खेल ब्राजिलविरुद्ध खेलेको थियो । सन् १९७४ मा गोलरहित बराबरी खेलेपछि ब्राजिलले १९८२ मा ४-१, १९९० मा १-० र १९९८ मा २-१ को जित निकालेको थियो।
ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेलेपछि दोस्रो खेलमा हैटीलाई ३-० ले पराजित गरेको थियो । प्रशिक्षक कार्लो आन्सेलोट्टीले अनुभवमा जोड दिइरहेका छन् । हैटीविरुद्ध मैदान उत्रिएको ब्राजिलको सुरुआती टोलीको औसत उमेर ३० वर्ष १९० दिन थियो, जुन सन् १९६२ को फाइनलयता विश्वकपमा सबैभन्दा बढी हो । यद्यपि युवा खेलाडी रायान र एन्ड्रिकले पनि अवसर पाएका छन् । उनीहरू ५६ वर्षयता विश्वकपमा ब्राजिलबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडीमध्ये परेका छन् । घाइते राफिन्हाको अनुपस्थितिमा भिनिसियसमाथि ठूलो जिम्मेवारी छ। उनले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा तीन गोल र तीन गोलका अवसर सिर्जना गरेका छन् । फिटनेस पुनः प्राप्त गरेका नेइमारले पनि यस खेलमा केही समय मैदान उत्रिने सम्भावना रहेको बताइएको छ । रोचक कुरा के छ भने, नेइमारले ब्राजिलका लागि पहिलो पटक दुई गोल गरेको खेल पनि करिब १५ वर्षअघि स्कटल्यान्डविरुद्ध नै थियो ।

त्यस्तै अटलान्टामा हुने अर्को खेलमा मोरक्कोले हैटीसँग खेल्नेछ । मोरक्कोले ब्राजिलसँग १-१ को बराबरी र स्कटल्यान्डमाथि १-० को जित निकाल्दै नकआउट चरण नजिक पुगेको छ ।
ब्राजिलसँग गोल अन्तरमा मात्र पछि रहेकाले ठूलो अन्तरको जित निकाल्न सके मोरक्को समूह विजेता बन्न सक्छ । इस्माइल साइबारी उत्कृष्ट लयमा छन् । उनले ब्राजिलविरुद्ध गोल गरेका थिए भने स्कटल्यान्डविरुद्ध एक मिनेट १० सेकेन्डमै गोल गर्दै विश्वकप २०२६ कै सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए । ब्राहिम डियाजले लगातार दोस्रो खेलमा गोलका अवसर सिर्जना गरेका छन् भने अशरफ हाकिमी पनि सधै झैँ उत्कृष्ट लयमा छन् । १८ वर्षीय मध्यपङ्क्तिका खेलाडी अयुब बुआद्दीले पनि टोलीको खेल नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

त्यसैगरी ५२ वर्षपछि विश्वकपमा फर्किएको हैटीले लगातार दुई हार बेहोरेको छ। उसले स्कटल्यान्डसँग १-० र ब्राजिलसँग ३-० को हार व्यहोरेको थियो । विश्वकप इतिहासमा हैटीले अझैसम्म कुनै अंक जोड्न सकेको छैन । उसले खेलेका पाँचमध्ये चार खेलमा तीन वा सोभन्दा बढी गोल खाएको छ र कुल १८ गोल बेहोरेको छ । ब्राजिलविरुद्ध पहिलो हाफमा एउटा पनि प्रहार गर्न नसकेको हैटीले दोस्रो हाफमा भने ब्राजिललाई सीमित अवसर मात्र दिएको थियो ।
प्रतियोगिताबाट बाहिरिइसके पनि हैटीले पहिलो विश्वकप अंक हासिल गर्ने लक्ष्यसहित मोरक्कोलाई चुनौती दिने प्रयास गर्नेछ ।
अन्तिम खेलको सम्भावित समीकरण, जस अनुसार ब्राजिल विजयी भएमा समूह विजेता बन्ने सम्भावना प्रबल हुनेछ । त्यस्तै मोरक्को विजयी र ब्राजिल बराबरी वा पराजित भएमा मोरक्को समूह विजेता बन्न सक्छ । त्यसैगरी अन्य सम्भावनामा स्कटल्यान्डले ब्राजिललाई हराएमा पहिलो पटक नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ भने हैटी विजयी भएमा नकआउट चरण पुग्ने सम्भावना छैन, तर ऐतिहासिक पहिलो विश्वकप अंक प्राप्त हुनेछ ।
समूह ‘सी’ को अन्तिम खेलमा विश्व फुटबलका दुई फरक कथाको साक्षी बन्नेछ, एकातिर विश्व फुटबलको महाशक्ति ब्राजिलको शीर्ष स्थानको लडाइँ, अर्कोतिर इतिहास बदल्ने प्रयासमा रहेको स्कटल्यान्डको सपना ।






