विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

सिड्नीस्थित स्वतन्त्र थिङ्क ट्याङ्क लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको वार्षिक सर्वेक्षणअनुसार विश्वमञ्चमा जिम्मेवार ढंगले प्रश्तुत हुने मामिलामा अमेरिकाप्रति अस्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमा न्युन बिन्दुमा पुगेको छ । इन्स्टिच्युटले सार्वजनिक गरेको २० औँ वार्षिक सर्वेक्षण प्रतिवेदनकाअनुसार सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशतले विश्वव्यापी मञ्चमा अमेरिकाको भूमिकाप्रति ‘रत्तीभर विश्वास नभएको’ प्रतिक्रिया दिएका छन् । त्यसैगरी, ३० प्रतिशत सहभागीले अमेरिकाप्रति ‘धेरै विश्वास नभएको’ बताएका छन् ।

लोवी इन्स्टिच्युटले विगत दुई दशकदेखि गर्दै आएको यस वार्षिक सर्वेक्षणको इतिहासमै अमेरिकाप्रतिको यो सबैभन्दा न्यून स्तरको विश्वास हो । तथ्याङ्कअनुसार सन् २०२२ यता अमेरिकाप्रति अविश्वास गर्ने अस्ट्रेलियालीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सन् २०२२ मा ३५ प्रतिशत उत्तरदाताले मात्र अमेरिकाप्रति अविश्वास (रत्तीभर वा धेरै विश्वास नभएको) व्यक्त गरेकोमा हाल सो संख्या बढेर ६८ प्रतिशत पुगेको छ । यसका साथै अस्ट्रेलियाको सुरक्षाका लागि अमेरिकासँगको सैन्य वा रणनीतिक गठबन्धन ’अत्यन्त महत्वपूर्ण’ रहेको ठान्नेहरूको संख्यामा पनि गिरावट आएको छ ।

सन् २०२२ मा ६० प्रतिशतले यस गठबन्धनलाई उच्च प्राथमिकता दिएकोमा हाल यो संख्या ४२ प्रतिशतमा खुम्चिएको सर्वेक्षणले देखाएको छ ।

अन्य समाचारहरु