काठमाडौँ – एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले देश र जनतालाई विश्वासमा लिएर अगाडि बढ्नका लागि आफूले जनमुक्ति सेनालाई नेपाली सेना मातहत ल्याउने निर्णय गरेको बताएका छन्।
आज आफ्नै निवास लाजिम्पाटमा दैनिक पत्रिकाका सम्पादकहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने- ‘माओवादी शान्ति र संविधानमा केन्द्रित छैन, हतियार र सेना राखिरहन चाहन्छ भन्नेहरूलाई यो निर्णय गतिलो झापड भएको छ। अब संविधान निर्माणमा कोही कसैले अवरोध गर्न पाउने छैनन्। ‘
शान्ति प्रक्रिया एउटा चरणमा प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको विश्वासमा आफू र आफनो पार्टी साहसिक निर्णय गर्न बाध्य भएको बताए।
शान्ति प्रक्रिया टुङ्गोमा पुगेपछि संविधान निर्माण प्रक्रिया अगाडि बढ्ने र आगामी जेठ १४ गते नै नेपाली जनताको संविधान बन्ने उनले बताए।
अध्यक्ष दाहालले भने-‘अब पनि कुनै पनि बहानामा संविधान निर्माण प्रक्रियालाई रोक्न हुँदैन र कसैले अवरोध गर्छ भने त्यसलाई नेपाली जनताले ठिक गर्नेछन्।’
देशको ठूलो राजनीतिक दल हुनुको नाता र शान्ति प्रक्रियाको प्रमुख हिस्सा भएको नाताले आफूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरेको उनले बताए।
पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले गरेको विद्रोहको कुनै तुक नरहने चर्चा गर्दै अध्यक्ष दाहालले भन्नुभयो-‘उहाँहरूले विरोध गर्नु सामान्य प्रक्रिया हो।’
आफनो पार्टीभित्र देखिएको विवाद समाधान हुने र पार्टी नफुट्ने र त्यस्मा आशङ्का नगर्न उनले सबैसँग आग्रह गरे। रासस



