आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनीका तराईमा तातो लहरको जोखिम
आषाढ़ ११ गते, २०८३ मा प्रकाशित
काठमाडौं। देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव देखिन थालेसँगै आज पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो लहर (हीट वेभ) को सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि अत्यधिक गर्मी रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, गण्डकी तथा बागमती प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ तथा तातो लहरबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।