वर्षको अन्तिम दिन देशवासीका नाममा प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको सम्बोधनको पूर्ण पाठ

वर्षको अन्तिम दिन आज प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माण, शान्ति प्रक्रिया र जनजीविकाका विषयमा देशवासीका नाममा सम्बोधन गरेका छन्। के छ सम्बोधनमा ? जस्ताको तस्तै पूरै पढ्नुस्-


आदरणीय आम नेपाली आमाबुबा, प्यारा दिदीबहिनी तथा दाजुभाइहरू,


सबैभन्दा पहिले म बलिदानी संघर्षका अनेक श्रृङ्खलाको अजेय शक्तिलेे संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोल्न अतुलनीय योगदान पुर्‍याउने दशवर्षे जनयुद्ध, उन्नाइस दिने जनआन्दोलन, तराईमधेश आन्दोलन लगायतका सबै न्यायपूर्ण आन्दोलनहरूमा सहादत प्राप्त गर्ने शहिदहरू र बेपत्ता योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते तथा अपाङ्गहरू प्रति उच्च सम्मान प्रकट गर्दछु। साथै ती तमाम आन्दोलनहरूमा आफ्ना सहयोद्धा तथा आफन्तजन गुमाएको पीडामा परेका दिदीबहिनी/दाजुभाइ प्रति हार्दिक सहानुभूति व्यक्त गर्न चाहन्छु। इतिहासका हरेक लडाईमा एउटा समुन्नत र समतामूलक नेपालको सपना देख्ने ती तमाम योद्धाहरू तथा शहिदहरूको सपना साकार पार्न म जीवनपर्यन्त लडिरहने वचनवद्धता व्यक्त गर्दछु।

आज म मुलुकको कार्यकारिणी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको ७ महिना पश्चात एउटा युगको अन्त भएको र अर्को संस्थागत भैनसकेको संक्रमणकालको यथार्थतालाई आत्मबोध गर्दै केही उत्साहका कुरा, केही असजिलाहरू र केही मेरो भावनाका कुरा तपाई नेपाली जनता समक्ष स्पष्ट राख्ने उद्देश्यले यहाँ उपस्थित भएको छु।

 

आज म मुलुकको कार्यकारिणी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको ७ महिना पश्चात एउटा युगको अन्त भएको र अर्को संस्थागत भैनसकेको संक्रमणकालको यथार्थतालाई आत्मबोध गर्दै केही उत्साहका कुरा, केही असजिलाहरू र केही मेरो भावनाका कुरा तपाई नेपाली जनता समक्ष स्पष्ट राख्ने उद्देश्यले यहाँ उपस्थित भएको छु।

सात महिनाअघि मुलुकको राजनीति एकपछि अर्को वक्ररेखामा फसेको थियो। राजनीतिक शक्तिहरुबीच संवादको स्तर एकदमै दयनीय थियो र शान्ति र संविधानको राष्ट्रिय प्राथमिकता गणितीय राजनीतिका एकपछि अर्का असफल खेलहरुबाट नराम्ररी प्रभावित भइरहेको थियो। शान्ति र संविधानका जटिल कार्यभार पूरा गर्न नसकी नेपाल कतै असफल राष्ट्र हुने त होइन भन्ने आशंका देशभित्र र बाहिर पनि बढिरहेका बेला मेरो नेतृत्वको सरकारको गठन भएको थियो। सात महिनापछि अहिले आन्तरिक र बाह्य रुपमा पनि अविश्वासको वादल फाटेको छ र विश्वासको घाम लागेकोे छ। दलहरुबीचका आशंका मेटिदै गएका छन् र भरोसा थपिदै गएको छ। सबैभन्दा मुख्य उपलब्धि के भने प्रतिक्रिया र निषेधको ध्वंशात्मक राजनीति त्यागेर मुलुक फेरि क्रियात्मक र रचनात्मक राजनीतिमा फर्केको छ। यो वातावरणको निर्माण र सहजीकरणमा मेरो नेतृत्वको सरकारले योगदान गर्न पाएकोमा म गौरवान्वित र हर्षित छु।


यो सरकार गठन सँगै नागरिकका आकांक्षाहरु चुलिए। किनकि एकातिर सदियौँ देखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पिडनबाट पिल्सिएका जनसंख्याको ठूलो हिस्सा गणतन्त्रको स्थापना पछि उनीहरूका मुद्दाको यथोचित सम्वोधन हुन नसक्दा क्रमशः अधैर्य र निरास हुँदै जान थालेको थियो। लामो समय देखि शिविरमा खुम्चिएर अनिश्चित भविष्य बोकेर बसेका जनमुक्ति सेनाको ठूलो हिस्सा शान्ति प्रकृयाको गन्तव्यको व्यग्र प्रतीक्षामा रहेको थियो। नागरिक समाज र आम जनसमुदायमा पनि संविधान निर्माण प्रकृयामा गतिरोध पैदा हुँदा र दलहरू सरकार बनाउने र भत्काउने खेलमा लागि रहँदा अक्रोस र निराशा बढ्दै गरेको थियो। संक्रमण लम्बिदै जाँदा शान्ति सुव्यवस्थामा देखिएका विकृतिहरू, हिंसाको सँस्कृति, राजनीति र प्रशासनमा अपराधको घुसपैठ, महङ्गी र सरकारी सेवामा देखिएका विकृति विसंगतिबाट आम जनसमुदायले राहत खोजिरहेको थियो। त्यस्तो नकारात्मक वातावरणको एउटा उत्कर्षको विन्दुमा मेरो नेतृत्वमा सरकार बन्यो। त्यसैले यस सरकार प्रति जनताका धेरै अपेक्षा थिए। यिनै जनताका अपेक्षालाई बोध गरेर नै यो सरकारले शान्ति, संविधान, सुशासन र संवृद्धिका चार प्राथमिकता तय गरेको थियो।


सरकार गठन पश्चात नै सरकारले मूलतः आफ्नो ध्यान शान्ति प्रकृयालाई तीव्रता दिने र संविधान निर्माणका लागि आफूले पहलकदमी लिनुका साथै सहज वातावरण बनाउने कामलाई प्राथमिकता दियो। सरकार गठन भए लगत्तै सेना समायोजन विशेष समितिको पहिलो बैठकबाट शिविरमा रहेका हाहतियारका कन्टेनरको साँचो हस्तान्तरण गरियो। यो तत्काल सरकारले चालेको शान्ति प्रकृयालाई गुणात्मक रुपमै अगाडि बढाउने अत्यन्त महत्वपूर्ण आधारभूत काम थियो। तत्पश्चात सरकार कहिलै पछाडि फर्केको छैन। यहि चैत्र २८ गते हामीले शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण र जटील काम सेना समायोजनलाई बस्तुतः सम्पन्न गरेका छौं। अव देशमा एउटा राज्य र दुईवटा सेनाको स्थितिको अन्त्य भएको छ। माओवादी जनमुक्ति सेना नेपाल सरकार मातहत आएको छ र नेपाली सेनाले लडाकु, हतियार सहितका कन्टेनर र शिविरको सुरक्षाको जिम्मा लिएको छ। अव समायोजन प्रक्रियाका केही प्राविधिक पक्षमात्र वाँकी छन्, जुन छिटै सम्पन्न हुने छन्। यो नेपाली शान्ति प्रक्रियाको ऐतिहासिक उत्कर्ष हो। नेपाली शान्ति प्रक्रिया अव कहिल्यै पछाडि नफर्कने गरी अगाडि बढेको छ। माओवादी पार्टीको लचकता, नेपाली सेनाको जिम्मेवार प्रस्तुति, राजनीतिकदलहरुको सुझवुझ र पूर्व जनमुक्ति सेनाको सुझवुझ विना यो सम्भव थिएन। यी सवै पक्षलाई म नेपाल सरकारका तर्फबाट र समग्र मुलुकका तर्फबाट हार्दिक वधाई तथा धन्यावाद दिन चाहन्छु।


विशेषतः म जुनयुद्धका अदम्य साहसी जनसेनाका सबै जनयोद्धाहरुलाई हार्दिकतापूर्वक सलाम गर्दछु। उहाहरुकै वलिदान र त्यागको कारण हाम्रो राजनैतिक आन्दोलनले यो उचाई प्राप्त गरेको हो। यो मुलुकलाई गणतन्त्रमा लैजान कुनै एउटा समुह विशेषको सबैभन्दा बढी योगदान छ भने त्यो जनसेनाको योगदान हो। तपाईहरूको वीरता, धैर्य, शाहस र वलिदानको इतिहासले उच्च मूल्याङ्कन गर्नेछ। तपाई हाम्रा सहयोद्धाका रगतले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तपाईहरूले सहजतापूर्वक सरकार र सेना समायोजन विशेष समितिका हरेक निर्णयणलाई शिरोधार्य गर्नु भयो। यो तपाईहरूको महानताको शब्दमा प्रशंसा गर्न सकिन्न। अब तपाईहरूको बलिदान र त्यागको प्राप्तिलाई संस्थागत गर्ने भनेकै अग्रगामी संविधानको निर्माणबाट हो। हामी त्यो दिशामा धेरै अगाडी बढेका छौँ। म तपाईहरू र आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विश्वश्त बनाउन चाहान्छु। अब संविधान समयमै जारी हुने वातावरण बनेको छ। सबै राजनैतिक दलले आलटाल वा अन्य कुनै बहानामा संविधान निर्माणमा बाधा पुर्‍याएमा जनताले क्षमा दिने छैनन्। जनताका अदालतमा हामी सबैले उभिनै पर्छ। त्यसैले जन अपेक्षा पूरा गर्न समयमै संविधान जारी गर्नुको विकल्प छैन।


त्यसरी नै म नेपाली सेना र त्यसको नेतृत्वपंक्तिले यो सेना समायोजन प्रक्रियामा निर्वाह गरेको असाध्यै जिम्मेवारपूर्ण भूमिकाको उच्च प्रशंशा गर्दछु। नेपाली सेना र पूर्व जनमुक्ति सेना दुवै अव नेपाल राज्यका एकीकृत सुरक्षा शक्ति बनेका छन्। दुवैले विगतको भिन्न परिस्थतिको तिक्तता र वैरभावलाई विर्सेर एकतावद्ध र अनुशाशित ढंगले देश र जनताको सेवा गर्नेछन् र विश्वलाई नै नेपाली शान्ति प्रक्रियाको मौलिकताको परिचय दिने छन् भन्ने मैले विश्वास लिएको छु।


कुनै पनि ऐतिहासिक काम सम्पन्न गर्दा अग्रगामी वस्तुवादी सोंच र पिछडिएको मनोगत सोँच बीच द्धन्द हुनु स्वभाविक हुन्छ। यो प्रकृति र समाज विकासको नियम नै हो । अहिले सेना समायोजन र शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा पनि सरकार र देशकै नेतृत्व गरिरहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) भित्र विचारको द्धन्द देखा पर्नुलाई अन्यथा मान्नु हुँदैन। परन्तु म माओवादी पार्टी भित्रका असन्तुष्ट र भिन्न मत राख्ने साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने क्रान्ति आवेगले होईन विवेकले गरिन्छ र त्यो कहिल्यै पनि सिधा रेखामा वा बनिवनाउ बाटोबाट सम्पन्न हुँदैन। वरु त्यो त अत्यन्त जटील, वांगोटिंगो, र वर्तुलाकार बाटोबाट पो पूरा हुन्छ। नेपालको क्रान्ति एक्काइसौ शताब्दीको विश्वपरिस्थिति, क्षेत्रिय परिवेश र देश भित्रको वर्गीय तथा राजीतिक शक्ति सन्तुलनले निर्धारण गरेको मौलिक बाटो बाट मात्रै सम्पन्न हुनेछ। हामीले अहिले सोही अनुरुप ठोस स्थितिको ठोस विश्लेषण गरेर शान्ति र संविधानको बाटो बाट आमुल परिवर्तनका एजेण्डा&#2