पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कुटनीतिप्रति आफ्नो प्रतिवद्धता दोहो¥याउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने संकल्प गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियानको भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको जानकारी दिनुभएको हो ।

इरानी राष्ट्रपतिको बिदाइपछि जारी वक्तव्यमा प्रधानमन्त्री सरिफले दुई नेताबीच क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा अत्यन्तै सौहार्दपूर्ण र फलदायी छलफल भएको उल्लेख गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीच इस्लामावाद समझदारी पत्रमा हस्ताक्षर भएपछि तथा स्विजरल्याण्डको बुर्जेनस्टकमा प्राविधिक वार्ताको पहिलो चरण सम्पन्न भएयता दुई नेताबीच भएको यो पहिलो भेटवार्ता हो । छलफलका क्रममा दुवै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्ने साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सरिफका अनुसार दुवै देशले बाँकी रहेका असमझदारी र समस्याहरूलाई संवाद तथा कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् । प्रधानमन्त्री सरिफले पाकिस्तानलाई एक असल मित्र, छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग निकट रहेर काम गर्न इस्लामावाद सदैव प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

दुवै पक्ष आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन सहमत भएका छन् ।