
मोजाम्बिकका राष्ट्रपति ड्यानियल फ्रान्सिस्को चापोले देशको ५१ औँ स्वतन्त्रता दिवसका अवसरमा आर्थिक आत्मनिर्भरताका लागि राष्ट्रिय अभियान चलाउन आह्वान गर्नुभएको छ । राजधानी मापुतोस्थित हिरोज स्क्वायरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति चापोले सन् १९७५ मा प्राप्त राजनीतिक स्वतन्त्रतालाई अब आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले उत्पादन वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र देशमा उपलब्ध प्रचुर प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयो ।


राष्ट्रपति चापोले उत्पादन र उत्पादकत्वलाई दोस्रो स्वतन्त्रताको संज्ञा दिँदै यसका लागि कडा परिश्रम, अनुशासन, देशभक्ति र आर्थिक राष्ट्रवाद अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

यसैगरी, उहाँले खनिज, तेल तथा ग्यास जस्ता प्राकृतिक स्रोतहरूबाट अधिकतम लाभ लिन सरकारले उत्खनन क्षेत्रमा सुधार गरिरहेको जानकारी दिनुभयो ।
कच्चा पदार्थको निर्यात गर्नुको सट्टा स्वदेशमै मूल्य अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो ।





