राष्ट्रपति रामवरण यादवद्धारा राष्ट्रिय अखण्डताका लागि जातीय विविधताबीच सदभाव कायम राख्न आग्रह

– भरत जर्घामगर

 

लहान  – राष्ट्रपति रामवरण यादवले राष्ट्रिय अखण्डताका लागि जातीय विविधताबीच सदभाव कायम राख्न आग्रह गरेका छन् । दलित दुसाध जातिका प्रतापी राजा सलहेस दलित समुदायका भए पनि सबै जातिका लागि पूजनीय भएकाले मिथिलाञ्चलवासीले उनीबाट पाठ सिक्नुपर्ने बताए ।

‘जातिगतरुपमा दलित डोम, चमार, मुसहर, सार्की र अन्य यादव, साह जातिमा विभक्त नभई जातीय विविधतालाई कायम राख्न आग्रह गर्छु’ उनले भने ‘हिमालवासी, पहाडवासी, तराईवासी सबै नेपाली भएकाले आधुनिक नेपालको राष्ट्रिय अखण्डतालाई जोगाउनुपर्छ ।’

नेपालमा भएका परिवर्तनमध्ये अहिलेको परिवर्तन उत्कृष्ट भएको वर्णन गर्दै राष्ट्रपति यादवले प्रजातन्त्रवादीले प्रजातन्त्र पाएको, लोकतन्त्रवादीले लोकतन्त्र पाएको र गणतन्त्रवादीले पनि गणतन्त्र पाएको र भौगोलिक अधिकारका लागि संघीयताको तयारी भइरहेको उल्लेख गरे ।

परिवर्तनपछिको जनताको प्रत्यक्ष मताधिकारबाट संविधान सभामा चुनिएका ६ सय १ सभासदको फोटो खिच्न भन्दै राष्ट्रपति यादवले हिमालका शेर्पा, पहाडका राई लिम्वु, सार्की तराईका चमार, डोम, साह, यादव समेतको उपस्थितिले हिमाल, पहाड, तराईलाई समेटेकाले जातजातिको अधिकारका लागि विद्रोह गर्न नपर्ने बताए ।

विद्रोह गरेर विनाशमात्र निम्तिने भएकाले संघीयताको तयारी भइरहेकाले नेपाली जनतालाई धैर्य गर्न उनले आग्रह गरे ।

हरेक नव वर्षमा लाग्ने सिरहाको पडरिया र सिसवनीस्थित सलहेस फुलवारी मेलाको अवलोकन गर्न सलहेस फुलवारी क्षेत्र आइपुगेका राष्ट्रपति यादवले राजा सलहेशको गहवर, हरेक वर्ष वैशाख १ गतेमात्र सेतो सुनाखरी फुल अवस्थित मालिनको दर्शन गरेका थिए ।

राष्ट्रपति यादवले शुक्रबारै सिरहा सदरमुकाममा रहेको राजा सलहेसको दरबारको महिसोथाको अवलोकन गरे । इतिहासमा उल्लेख भएअनुसार राजा सलहेस चौधौं शताब्दीका हुन् ।

स्थानीय स्तरमा गरिने लोक नाँचमा सलहेशको वर्णन विस्तुत रूपमा र गीत, लोकगाथामा पराक्रम र वीरताको वर्णन गरिएको पाइन्छ ।

मिथिलाको संस्कृति र मैथिली लोकगाथाका नायकहरूमा राजा सलहेसको नाम सबैभन्दा माथि छ । सलहेस मिथिलाका आम मानिसको मनमा भएकाले तथाकथित तल्लो जातिका भएर पनि यिनी मिथिलामा लोक देवताका रूपमा स्थापित छन् ।

सिरहाको व्यापारिक केन्द्र लहान बजारदेखि चार किलोमिटर पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पडरिया चोकको दक्षिणमा अवस्थित ऐतिहासिक तथा धार्मिक फूलबारीमा यसवर्ष पर्यटकीय विकासका लागि वैशाख १ गते शुक्रबार ‘सलहेस महोत्सव-२०६९’ को आयोजना गरिएको छ ।

सलहेशले एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाँडामा कुस्ती खेल्ने, सलहेश गढमा कूलदेवीको पूजा गर्ने र प्रजाको पिरमर्का सुन्ने गरेको किम्वदन्ती छ । वि.स. १३२५ मा सिरहाको महिसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेम विवाहका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ ।

१ लाखद्धारा मेलाको अवलोकन

प्रत्येक वर्ष वैशाख १ गते लाग्ने धार्मिक तथा ऐतहासिक महत्वको फुलबारी मेलामा यसवर्ष एक लाखभन्दा बढी सर्वसाधारणले मेलाको अवलोकन गरेको अनुमान मूल आयोजक समितिले गरेको छ ।

समितिका अनुसार सिरहा, सप्तरी, धनुषा, महोतरी, सर्लाही र उदयपुर र जिल्ला तथा भारतको विहार उतर प्रदेश राज्यको उतरी भागबाट लाखौंको संख्यामा सर्वसाधारण मेला भर्न आएका थिए ।