
काराकास, १३ असार । जुन २५ मा गएको दुईवटा भूकम्प पछि दक्षिण अमेरिकी देश भेनेजुएलामा फेरी अर्को भूकम्प गएको छ।
देशको उत्तरी तट नजिकै आएको यो भूकम्प ४.९ म्याग्निच्युडको थियो, राजधानी काराकास र माराकेमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

हालैको भूकम्पको तीन दिन पछि मृत्यु हुनेको संख्या ९२० पुगेको सरकारी कार्यालयले जनाएको छ । सो क्रममा ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने ५१ हजार ७०० भन्दा बढी अझै बेपत्ता रहेका छन्। अधिकारीहरूका अनुसार शनिवार बिहानसम्म २४३ जनालाई जीवितै उद्धार गरिएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।


धेरै क्षेत्रहरूमा राहत टोलीको अभावका कारण मानिसहरूले आफ्नो परिवारका सदस्यहरूलाई खोज्न आफैं भग्नावशेषहरू सफा गरिरहेका छन्। धेरै परिवारहरूले आफ्ना प्रियजनहरूलाई खोज्नको लागि भवनको भग्नावशेष हटाउन हथौडा र अन्य उपकरणहरू प्रयोग गरिरहेको देखिएको छ ।
तर, अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)का प्रमुख एलिनोर रेक्सले देशको मुख्य विमानस्थलमा भएको क्षतिले ठूलो मात्रामा सहायता वितरणमा बाधा पुगिरहेको बताएकी छिन् ।

उनले उल्लेख गरिन् कि (आईआरसी) सँग छिमेकी कोलम्बियामा राहत सामग्रीहरू उपलब्ध भए पनि भेनेजुएलामा ढुवानी गर्न विमानस्थलमा पहुँच आवश्यक पर्दछ, जुन कार्य अझै पनि एक प्रमुख चुनौतीको रूपमा रहेको छ।
आगामी दिनहरूमा टोलीहरूले प्रभावितहरूलाई खाना, पिउने पानी, अस्थायी आश्रय र आवश्यक औषधि तथा चिकित्सा आपूर्तिहरू पुर्याउनमा ध्यान केन्द्रित गर्ने छन्।

भूकम्पपछि उद्धार कार्य जारी रहेकाले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले हिजो सर्वसाधारणलाई तत्कालका लागि ला गुआइरा राज्यको यात्रा नगर्न आग्रह गरेका छिन् ।

सरकारी टेलिभिजनबाट प्रसारित सन्देशमा रोड्रिगेजले भग्नावशेषमा जीवितै फसेका मानिसहरूको उद्धारका लागि यो अत्यन्त संवेदनशील र नाजुक समय भएको बताएकी छिन् ।
‘घटनास्थलमा मानिसहरू आइपुग्दा उद्धार टोलीहरूको आवागमनमा बाधा पुगिरहेको छ, त्यसैले, जनताले हाल ला गुएरामा यात्रा नगर्नुहोला’ उनले सम्बोधनमा भनिन् ।

सेना, प्रहरी, नागरिक सुरक्षा एकाइहरू अग्निनियन्त्रक र उद्धार टोलीहरू प्रकोप प्रभावित क्षेत्रहरूमा छिटो पुग्न सकून् भनेर मार्गहरू खाली राख्नु आवश्यक रहेकोमा जोड गरिन ।




