विकल्पविना बस्ती हटाएको भन्दै सुकुम्बासीको प्रदर्शन, २५ हजार राहत अस्वीकार गर्दै सरकारलाई ७ दिने अल्टिमेटम
आषाढ़ १३ गते, २०८३ मा प्रकाशित
काठमाडौं । विकल्पविना बस्ती हटाएर आफूहरूलाई विस्थापित गरिएको भन्दै थापाथलीस्थित बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले प्रतिपरिवार उपलब्ध गराउने भनेको २५ हजार रुपैयाँ राहत अस्वीकार गर्दै स्थायी बसोबासको व्यवस्था गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले होल्डिङ सेन्टरमा बस्दै आएका परिवारहरूको अवस्था अत्यन्त कष्टकर रहेको, खाद्यान्न, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षामा गम्भीर समस्या देखिएको बताएका छन्। उनीहरूका अनुसार दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सरकारले स्थायी समाधानको पहल नगरेको र विभिन्न सरकारी निकायले जिम्मेवारी एक–अर्कामा पन्छाउँदै आएको छ।
सुकुम्बासी प्रतिनिधिहरूले बस्ती हटाउँदा १५ दिनभित्र उचित व्यवस्थापन र लालपुर्जा दिने आश्वासन दिइए पनि हाल २५ हजार रुपैयाँ लिएर आफैं व्यवस्थापन गर्न भनिनु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले संविधानले सुनिश्चित गरेको सुरक्षित आवासको मौलिक हकको उल्लंघन भएको आरोप लगाउँदै सरकारलाई सात दिनभित्र स्थायी विकल्प उपलब्ध गराउन अल्टिमेटम दिएका छन्।
आन्दोलनकारीहरूले तोकिएको समयभित्र माग सम्बोधन नभए पुनः पुरानै स्थानमा फर्किएर बस्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले कानुनी लडाइँ पनि जारी रहने जनाउँदै सरकारले वार्ता, समन्वय र वैज्ञानिक ढंगले दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। साथै, होल्डिङ सेन्टरमा रहेका विस्थापितहरूको गाँस, बास, स्वास्थ्य र शिक्षाको तत्काल सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।