सिरियाको ऐतिहासिक किल्ला ‘कलात अल–मदिक’ मा फर्किए विस्थापित परिवार, पुनर्निर्माणको प्रयास जारी

सिरियाको मध्य हमा प्रान्तस्थित प्राचीन शहर ‘अपामिया’ को उचाईमा अवस्थित ऐतिहासिक किल्ला ‘कलात अल–मदिक’ मा वर्षौंदेखिको द्वन्द्वका कारण विस्थापित भएका परिवारहरू पुनः फर्कन थालेका छन् । हाल करिव ५०० स्थानीय बासिन्दाहरू यस ऐतिहासिक किल्लाभित्र आफ्ना क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्दै दैनिक जीवनलाई पुनः लयमा फर्काउने प्रयासमा जुटेका छन् ।

यो सिरियाका थोरै मात्र मानव वस्ती रहेका ऐतिहासिक किल्लाहरूमध्ये एक हो ।
लामो समयको विस्थापनपछि टर्कीबाट स्वदेश फर्किएका मोहम्मदले आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताए । १४ वर्षपछि मातृभूमि फर्किएका उनी अहिले घरको भग्नावशेष हटाउन व्यस्त छन् । बिजुलीको अभावका कारण उनी हाल ब्याट्री र सौर्य ऊर्जामा निर्भर छन् ।

उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘विस्थापनको जीवन अत्यन्तै कष्टकर हुँदो रहेछ । विनाश देख्दा मनमा पीडा र निराशा त हुन्छ, तर जे जस्तो भए पनि यो हाम्रो आफ्नै देश हो। म सिरिया फेरि पहिलेकै जस्तो शान्त र समृद्ध भएको देख्न चाहन्छु ।’
त्यसैगरी, ८० वर्षीया सुल्ताना अल–शेख इब्राहिम पनि लामो समयको विस्थापनपछि आफ्नी नातिनीसँगै क्षतिग्रस्त घरमा बस्न फर्किएकी छिन् । आर्थिक अभावका कारण घर मर्मत गर्न नसके पनि आफ्ना आफन्तहरूसँग पुनर्मिलन हुन पाएकोमा उनी खुशी छिन् । ‘मेरो घर भत्किएको र जलेको अवस्थामा छ, तर मलाई आफ्नो देश र आफन्तहरूसँगै बस्न पाएकोमा कुनै पछुतो छैन ।’ उनले भनिन् । 

किल्लाभित्रको यो मानवीय चहलपहलले यस ऐतिहासिक स्थललाई एक विशिष्ट पहिचान दिएको छ । हमा पुरातत्व तथा संग्रहालय विभागका प्रमुख मारवान अहमद जरबानकाअनुसार कलात अल–मदिक अन्य किल्लाहरूभन्दा फरक हुनुको मुख्य कारण यहाँको जीवन्त समुदाय हो । अन्य किल्लाहरूमा पर्यटकले केवल ऐतिहासिक स्मारकहरू मात्र देख्छन् भने यहाँ मानिसहरूको दैनिक जीवन पनि देख्न पाइन्छ ।

यद्यपि, ऐतिहासिक संरचनाको संरक्षण र बासिन्दाहरूको पुनर्निर्माणको आवश्यकताबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती बनेको जरबानले बताए । उनकाअनुसार पर्याप्त बजेटको अभाव र बासिन्दाहरूले गर्ने आधुनिक किसिमका मर्मत कार्यले पुरातात्विक महत्वका संरचना जोगाउन कठिन भएको छ ।

‘सिरिया एउटा खुला संग्रहालय जस्तै हो, र यति ठूलो संख्यामा रहेका पुरातात्विक स्थलहरूको संरक्षणका लागि ठूलो आर्थिक स्रोतको आवश्यकता पर्दछ ।’ जरबानले थपे ।