प्रधानमन्त्री भट्टराईद्धारा बन्द फिर्ता नगरे जनमुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका श्रममन्त्रीलाई निश्कासित गर्ने चेतावनी

काठमाडौं –  प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द फिर्ताको घोषणा नगरे जनमुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका श्रममन्त्री मालबरसिंह थापालाई निश्कासित गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्रीको चेतावनीपछि मन्त्री तथा पार्टी अध्यक्ष थापाले शनिबारै राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफल गरेका छन्।


‘प्रधानमन्त्रीले मलाई बन्द फिर्ता नलिए मन्त्रीबाट निकाल्छु भन्नुभयो,’ उनले राति  भने, ‘पार्टीलाई मनाउन पहल गर्छु भन्ने आश्वासन दिएको छु।’


बन्द फिर्ताको निर्णय नभए ‘मन्त्री निवास छाडेर आफ्नो घरतिर लाग्छु’ भन्ने आश्वासन पनि उनले प्रधानमन्त्रीलाई दिएको जानकारी दिए।


प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्रीले मन्त्री थापालाई मन्त्रिपरिषद्मा बसेको कुनै पनि पार्टीले बन्द आह्वान गर्न नमिल्ने सम्झाएका थिए। पार्टीका जायज मागप्रति सकारात्मक रहेकोमा पनि प्रधानमन्त्रीले जनाएका थिए।
जनमुक्ति पार्टीका थापा एक्लो सभासद् हुन्। सद्भावना (आनन्दीदेवी) कि सरिता गिरीलाई बर्खास्त गरेपछि गत महिना प्रधानमन्त्रीले थापालाई मन्त्रीमा नियुक्त गरेका थिए।  – नागरिक