
सञ्जय मिश्रा
रौतहट, १५ असार ।
रौतहटको पश्चिमिभेग फतुवा विजयपुर नगरपालिका–३ मेवास्थित रौतहट–बारा सीमामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पुल अन्ततः ढलान गरिएको छ।
नेपाली कांग्रेसका युवा नेता तथा मेयरका आकांक्षी ज्ञानेन्द्र यादवको सक्रिय पहलमा पुलको ढलान सम्पन्न भएपछि स्थानीयवासी खुसी भएका छन्।

पुल सञ्चालनमा आउने तयारीसँगै मेवा र रुपौलियाका बासिन्दामात्र नभई रौतहट र बाराका हजारौँ नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी वर्षायाममा अवरुद्ध हुने सडक अब नियमित रूपमा सञ्चालनमा आउने स्थानीयको विश्वास छ।
स्थानीयका अनुसार उक्त पुल निर्माणको प्रयास २०७८ सालमै ठेकेदार अरबिन्द साहले सुरु गरेका थिए।


तर, बारा जिल्लातर्फका सयौँ स्थानीयले पुल बनेपछि आफ्नो बस्ती डुबानमा पर्ने भन्दै विरोध जनाएका थिए। विरोधका क्रममा निर्माण सामग्रीमा क्षति पुगेको तथा झडपसमेत भएको थियो।
त्यसपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी, मेयर,जनप्रतिनिधि तथा सम्बन्धित निकायबीच पटक–पटक छलफल भए पनि विवाद समाधान हुन नसक्दा पुल वर्षौंदेखि अलपत्र अवस्थामा थियो।
यसबीच मधेश प्रदेश सरकारको करिब ८ लाख रुपैयाँ लागतमा पूर्वाधारतर्फको काम सम्पन्न गर्दै शुक्रबार राति पुलको ढलान गरिएको हो। स्थानीय सञ्चारकर्मी रुपेश यादवले यो कार्य युवा नेता ज्ञानेन्द्र यादवको पहल र समन्वयका कारण सम्भव भएको बताएका छन्।

वडा ३ का पूर्व वडा अध्यक्ष दीप नारायण साहका अनुसार पुल ढलान भएपछि अब मेवाबाट हरनहिया हुँदै कलैया तथा द्रुतमार्ग निजगढसम्म पुग्न वर्षायाममा पनि सहज हुनेछ। यसअघि पुल नहुँदा वर्षामा बाटो पूर्ण रूपमा अवरुद्ध हुने र करिब १ किलोमिटर दूरी पार गर्न लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।
स्थानीयवासीले लामो समयदेखि रोकिएको योजना सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् भने युवा नेता यादवप्रति आभारसमेत प्रकट गरेका छन्

वर्षौंदेखि प्रशासनिक विवाद, स्थानीय असहमति र डुबानको चिन्ताका कारण रोकिएको यो पुलको ढलानले स्थानीय पूर्वाधार विकासमा देखिएको जटिलताको अन्त्य गरेको छ। यद्यपि पुलको दीर्घकालीन प्रभाव, विशेषगरी डुबान व्यवस्थापन र प्राविधिक सुरक्षाका विषयमा सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नु आवश्यक देखिन्छ। स्थानीयका लागि भने यो पुल वर्षौंदेखिको आवागमन समस्याको महत्वपूर्ण समाधानका रूपमा हेरिएको छ।




