भेनेजुएलामा भूकम्पबाट १४५० को मृत्यु, ६ अर्ब ७० करोड डलरभन्दा बढीको क्षति

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा एक हजार ४५० पुगेको छ । सरकारी अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घाइते हुनेको संख्या तीन हजार १५० पुगेको छ।

सांसद होर्खे रोड्रिगेजले उद्धार कार्य अझै जारी रहेको जनाउँदै अहिले जीवित व्यक्तिहरूको खोजीका लागि अत्यन्त महत्वपूर्ण समय रहेको बताएका छन् ।

उनका अनुसार भूकम्पका कारण ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। साथै १२ हजार ७२१ जना विस्थापित भएका छन् ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले विदेशी उद्धार टोलीसँगको भेटमा सप्ताहन्तभर ३३ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएकी छन् ।

यसअघि संयुक्त राष्ट्रसंघीय बाल कोषले भूकम्पपछि १८ लाख मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेको जनाएको थियो । तीमध्ये करिब छ लाख ८० हजार बालबालिका रहेका छन् ।

यस्तै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भूकम्पबाट भएको प्रत्यक्ष भौतिक क्षतिको प्रारम्भिक अनुमान ६ अर्ब ७० करोड अमेरिकी डलर रहेको जनाएको छ। यो रकम भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर रहेको बताइएको छ ।